चितवनमा फेरि बर्डफ्लु भेटियो, १४ हजार कुखुरा नष्ट

रत्ननगर- चितवनमा आज बिहानसम्म बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ। अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले जानकारी दिनुभयो। गएरातिदेखि आज बिहानसम्म एक दर्जन प्राविधिक टोलीले सङ्क्रमित दुवै क्षेत्रमा कुखुरा नष्ट गरिरहेका छन्।

गोनद्राङ्गको लक्ष्मी रानाको पोल्ट्री फार्ममा मात्रै ११ हजार दुई सय ८९ कुखुरा नष्ट गरिसकिएको छ। यहाँ धेरै कुखुरा रहेकाले अहिले त्यहाँको कुखुरा सुरक्षित राखिएको र बेलुका ४ बजेपछि पुनः नष्ट गर्ने क्रम सुरु हुने पशुसेवा कार्यालय चितवनले जनाएको छ।
भरतपुर–९ गोन्द्राङ्गस्थित रानाको फार्ममा करिब ५२ हजार कुखुरा पालिएको सञ्चालकले बताएका छन्। यस्तै, पश्चिम चितवनको मङ्गलपुरमा रहेको राजेन्द्र हमालको पोल्ट्री फार्ममा रहेको तीन हजार दुई सय कुखुरा भने नष्ट गरी सरसफाइ गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी दवाडीले जानकारी दिनुभयो। यहाँको पाँचतले खोरमा कुखुरा पालिएको थियो।
यस्तै, मङ्गलपुरको फार्मबाट दुई सय ६० केजी दाना र दुई सय ४० वटा अण्डासमेत नष्ट गरिएको जनाइएको छ। चितवनका दुईवटा कुखुरा फार्ममा एकै पटक बर्डफ्लु भेटिएपछि उच्च सर्तकताका साथ नष्ट गर्ने क्रम चलिरहेको चितवनका वरिष्ठ पशु चिकित्सक बोधनाथ अधिकारीले जानकारी दिए।
यसअघि चितवनको गौरीगञ्जस्थित मिलन पोल्ट्री फार्ममा बर्डफ्लु भेटिएको थियो। सो फार्मबाट गोन्द्राङ्गको कुखुरा फार्म केही किलोमिटर मात्रै टाढा छ। गोन्द्राङ्गमा चैत २६ गतेबाट कुखुरा मर्न थालेपछि वैशाख २ गते नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको र हिजो मात्रै बर्डफ्लु भएको पुष्टि भएको थियो। कुखुराको राजधानी मानिएको चितवनमा शृङ्खलाबद्ध रूपमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि व्यवसायीहरू चिन्तित भएका छन्। रासस

Leave a Reply

Your email address will not be published.