दीर्घकालीन दृष्टिकोण हुनुपर्ने : नेपाल

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति गर्ने विषयमा सम्पूर्ण राजनीतिक दलको दीर्घकालीन दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन्। बल्खु कृषि तथा तरकारी बजारले आज यहाँ आयोजना गरेको ‘रोजगारी सिर्जना तथा गरिबी निवारणमा कृषि क्षेत्रको योगदान’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करिब एक तिहाई योगदान कृषि क्षेत्रको योगदान रहेको उल्लेख गरे।

उनले सो क्षेत्रको आधुनिकीकरण, वैज्ञानिकीकरण गरी त्यसलाई व्यावसायिक बनाउन सरकारी नीतिमा नै व्यवस्थापन गर्न सकेमा मात्र कृषिको विकास सम्भव रहेको भन्दै सो क्षेत्रलाई महत्व दिनुपर्ने बताए।

वरिष्ठ नेता नेपालले मुलुकमा गरिबीको कुचक्रबाट किसानलाई मुक्त गर्न उनीहरूमाथिको शोषण अन्त्य गरी कृषि बिमालाई देशभर प्रभावकारी तथा सरलीकरण गर्न सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औंल्याए।

कृषि विकास र वन तथा भू–संरक्षणमन्त्री टेकबहादुर थापा घर्तीले सरकारले कृषि प्रयोजनका लागि कृषकले लिने ऋणमा तीन प्रतिशत व्याजदर घटाउने निर्णय गरेको उल्लेख गर्दै किसान र उपभोक्ताको सहजताका लागि कृषि डिपार्टमेन्टल स्टोर निर्माण गर्ने विषयमा छलफल भइरहेको बताए।

उनले असार महिनाभित्र कृषि विकास रणनीति तयार गरी त्यसलाई लागु गर्ने गृहकार्य भएको भन्दै त्यसमा कृषि उतपादनका लागि आवश्यक सामग्रीमा सहुलियत प्रदान गरिने र जैविक विविधताको संरक्षण गरिने जानकारी दिए।

बजारका व्यवस्थापक मोहन बस्नेतले निजी क्षेत्रबाट सञ्चालन भएको सो बजारलाई व्यवस्थित बनाउन सरकारले सहयोग गर्नुपर्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.