महासमिति बैठकबाट कांग्रेसभित्रको समस्या अन्त्य हुन्छ : कोइराला

चितवन- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य भएर जाने दाबी गरेका छन्। शनिबार चितवनमा कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले अधिकांश समस्या हल भइसकेको र यदि कुनै समस्या भए महासमिति बैठकले टुङ्ग्याउने बताए। 
हिजोदेखि चितवनमा रहेका उनले गुट उपगुटबाट माथि रहेर चुनावी माहोलमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए। राष्ट्रिय राजनीतिको विषयमा भएको अन्तर्क्रियामा उनले चुनावका लागि सरकार र दलले वातावरण तयार गर्नुपर्नेमा जोड दिए। उनले आन्दोलनरत दलहरुलाई चुनावी प्रक्रिया नबिथोल्नसमेत आग्रह गरे।
आजै उनले चितवनको क्यान्सर अस्पतालमा रहेको बिपीको तस्बिरमा माल्यार्पण गरेका थिए। उनले कांग्रेस निकट क्यान्सर अस्पतालका कर्मचारीहरुसँग छलफलसमेत गरे। छलफलमा सभापति कोइरालाले क्यान्सर अस्पतालको विकासमा आफू सधैं लागिपर्ने बताए।
यसअघि हिजो भएको विभिन्न कार्यक्रममा बोल्दै उनले वर्तमान अवस्थामा पनि दलहरुबीच विवाद देखिनु देशकै लागि दुर्भाग्य भएको भन्दै चिन्ता व्यक्त गरेका थिए। उनले दलहरुको सहमतिमा छिट्टै चुनावको मिति तोकेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो। रासस

Leave a Reply

Your email address will not be published.