याकुबलाई मृत्युदन्ड, २७ लाई जन्म कैद

Sanjay Duttमुम्बई, (एजेन्सी)– भारतको सुप्रिम कोर्टले सन् १९९३ मा मुम्बईमा भएका सृंखलाबद्ध बम विस्फोट मुद्दाको बिहीबार फैसला सुनाएको छ। कोर्टले विस्फोटका मुख्य योजनाकार याकुब मेननको मृत्युदन्डको सजायलाई सदर गरेको छ। याकुबले मृत्युदन्ड खारेजीको माग गरेको अपिल अदालतले खारेज गरेको छ।
कोर्टले फरार अभियुक्तपछि याकुबलाई नै विस्फोटको सबैभन्दा ठूलो दोषी मानेको छ। सन् १९९३ मार्च १२ मा भारतको आर्थिक राजधानी मुम्बईका १२ ठाउँमा सृंखलाबद्ध विस्फोट भएका थिए। विस्फोटमा दुई सय ५७ को मृत्यु भएको थियो भने सात सयभन्दा बढी घाइते भएका थिए।
सुप्रिम कोर्टले आफ्नो फैसलामा अभियुक्तहरू अशिक्षित र गरिब भएका कारण सजाय घटाएको उल्लेख गरेको छ।
कोर्टले विस्फोटमा पाकिस्तानको भूमिकाको भर्त्सना गरेको छ। कोर्टले विस्फोटका १० दोषीको मृत्युदन्डलाई जन्म कैदमा परिवर्तन गरेको छ। कोर्टले विस्फोटमा दोषी पाइएका १७ अभियुक्तको जन्म कैद सजाय यथावत राखेको छ भने एक अभियुक्तको सजाय १० वर्षमा झारेको छ। कोर्टले एक अभियुक्तको जेल सजाय पूरा भएको मानेको छ भने एकको जेलमा नै मृत्यु भइसकेको छ।
मुम्बई बम विस्फोट मुद्दाका एक सय ७९ आरोपीले आफ्नो सजायविरुद्ध अपिल गरेका थिए। सिबिआई(सेन्ट्रल ब्यूरो अफ इन्भेस्टिगेसन)ले भने ४८ आरोपीलाई रिहा गर्ने अदालती फैसलाविरुद्ध अपिल गरेको थियो।
कोर्टले आर्म्स एक्टअन्तर्गत भारतीय अभिनेता संजय दत्तको जेल सजाय छ वर्षबाट घटाएर पाँच वर्ष तोकेको छ। कोर्टले संजयलाई आत्मसमर्पण गर्न चार साताको समय दिएको छ। संजय यसअघि नै डेढ वर्ष जेल बसिसकेका छन्।
संजयका वकिल सतिस मानसिन्देले संजय सुप्रिम कोर्टको फैसलाको सम्मान गर्ने बताए। सतिसका अनुसार पाँच वर्षमध्ये संजयले डेढ वर्ष सजाय भुक्तान गरिसकेकाले अब साढे तीन वर्षमात्र जेल बस्नुपर्ने बताए।

Leave a Reply

Your email address will not be published.