हात्ती आयो…फुस्सा

malasiyaडी. विनोद- मलेसियाको शाहलमस्थित एक मेटल कम्पनीमा कार्यरत सुनसरीका पदम अधिकारी कम्पनीले न्यूनतम तलब बढाउने कुराले दंग थिए। नौ सय रिंगिट न्यूनतम तलब हुने भएपछि उनी फुर्किए र साथीहरूसँग आफ्ना अनुभव पनि साटे। त्यतिमात्र होइन, फोन गरेर घरपरिवारलाई पनि यो शुभ खबर सुनाए। तर, कम्पनीले तलब बढाएर अन्य सुविधा कटाएपछि अधिकारी र उनका साथीहरू हिस्स भए। ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मातजस्तो भयो,’ अधिकारीले टेलिफोनमा भने, ‘कम्पनीले सरकारलाई तिर्ने लभी चाहिँ कामदारले तिर्नुपर्ने भएपछि हामी समस्यामा परेका छौं। यो नयाँ कुरा होइन।’
यसअघि सरकारलाई तिर्दै आएको लेभी कामदारको सम्बन्धित कम्पनीले तिर्ने गरेको थियो। अधिकारीले भने, ‘बेसिक तलब बढेको भए पनि कम्पनीहरूले दिँदै आएका
सुवीधा काटेका छन्। ओभरटाइमसमेत काटेका छन्।’ न्यूनतम तलव वृद्धि गरेको भन्नेे प्रचारबाजी प्रवासी कामदारको हितमा नभएको गुनासो बढ्न थालेको छ। न्यूनतम तलब बढाए पनि अधिकांश सुविधा कटौती गरेपछि नेपाललगायत विभिन्न देशका कामदारले केही दिन आन्दोलन पनि गरेका थिए। ‘आइतवार र सार्वजनिक विदाको दिन पनि काम गर्थ्याैं,’ अधिकारीले भने, ‘तर, त्यो ओभरटाइम पनि कम्पनीले काटेको छ। यसले कामदारलाई मार परेको छ।’
मलेसियाको पोर्ट केलाङको इटा कम्पनीमा कार्यरत मोरङका सुरज गौतमलाई भने कार्यरत कम्पनीले बेसिक तलब नबढाउने र लेभी नकाट्ने भनी गरेको निर्णय नै ठीक लागेको छ। ‘बेसिक तलब बढाएपछि सुविधा काट्ने कम्पनीको निर्णयले कामदार मर्कामा पर्छ,’ उनले इमेलमार्फत भने।
मलेसिया सरकारले गत जनुवरीदेखि विदेशी कामदारको न्यूनतम तलब नौ सय रिंगिट तोकेको छ। मलेसियाका उद्योगीले सरकारको उक्त निर्णयको अप्रत्यक्ष विरोध जनाएपछि लेभीबापत रकम कामदार आफैँले बेहोर्र्नुपर्ने निर्णय सरकारले थपेको थियो।
कतीपय कम्पनीले बेसिक तलब बढाएसँगै होस्टेल भाडा र पानीको खर्च पनि बढाएका छन्। यसले नेपालीलगायत विदेशी कामदार समस्यामा परेका छन्।
मलेसियाको शाहलममा कार्यरत मनिराम पौडेल कामदारको कार्यक्षमताको मूल्यांकन नगरी भएको निर्णय ठीक नभएको बताउँछन्। उनले मलेसिया सरकारको नियमले विदेशी कामदार समस्यामा परेको बताए। ‘पुराना र नयाँलाई एउटै तलब निर्धारण गरिनुले पुराना कामदारको कुनै मूल्यांकन भएन,’ उनले टेलिफोनमार्फत भने, ‘कामको आधारमा तलब निर्धारण गरिनुपर्छ। यो हामी पुराना कामदारमाथि अन्याय हो।’
स्याङ्जाका जीतबहादुर गुरुङ लेभीसँगै अन्य सुविधा काटिएपछि विदेशी कामदार झन् समस्यामा परेको गुनासो गर्छन्। ‘पहिला १६ सयसम्म तलब थापिन्थ्यो। अब १२ सय कट्न मुिश्कल छ। कसरी तलब वढ्यो?’ उनले प्रश्न गरे।
म्यानपावरको ठगी
मलेसियामा न्यूनतम तलब बढाएको चर्चा चल्नासाथ नेपालमा रहेका म्यानपावर कम्पनीले नेपाली कामदारसँग मनलाग्दी रकम उठाउन थालेका छन्। तलब बढेको बाहनामा उनीहरूले मनपरी रकम उठाउने गरेका हुन्। भर्खरै मलेसिया पुगेका झापाका विष्णु काफ्लेका अनुसार नौ सय रिंगिट बेसिक तलब हुने भन्दै एक लाख ४० हजार रुपैयाँसम्म म्यानपावर कम्पनीले उठाउने गरेका छन्।
(मलेसियाबाट अर्जुन काफ्लेको सहयोगमा)

Leave a Reply

Your email address will not be published.