सबै राजनीतिक दललाई निर्वाचनतर्फ उन्मुख हुन मन्त्रिपरिषद्को आग्रह

Singh Durbarकाठमाडौं- अन्तरिम चुनावी मन्त्रिपरिषद्को पहिलो बैठकले स्वच्छ र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको बैठकले निर्वाचनबाटै सबै समस्याको समाधान हुने हुँदा सम्पूर्ण राजनीतिक दललाई त्यसतर्फ उन्मुख हुन आग्रह गरेको छ। बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै गृहमन्त्री तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले शक्ति पृथकीकरण तथा सन्तुलनको सिद्धान्त अङ्गीकार गर्दै मानवअधिकारको संरक्षण र शान्तिसुरक्षा कायम गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले आर्थिक सहायताको मापदण्डविपरीत चन्दा, दान, आर्थिक सहायता, पुरस्कार नदिने व्यवस्था बैठकले गरेको जानकारी पनि दिए।
बैठकले राजनीतिक दलहरूले विश्वास गरी मन्त्रिपरिषद्को जिम्मेवारी आफूहरूलाई दिएकामा धन्यवाद दिँदै मन्त्रिपरिषद्ले नागरिक समाज विभिन्न सङ्घ, सङ्गठन, राष्ट्रसेवक, कर्मचारी र जनताबाट सहयोगको अपेक्षा गरेको बताए।
त्यसैगरी, पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज गराउन गृहमन्त्री, मुख्य सचिव, अर्थ र वाणिज्य मन्त्रालयका सचिवसहित नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधि रहने गरी एक समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
कूटनीतिक सेवाअन्तर्गत राजपत्राङ्कित द्वितीय श्रेणी र सामान्य प्रशासन मन्त्रालयका गरी एक दर्जन कर्मचारीलाई सहसचिवमा बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ। रासस

Leave a Reply

Your email address will not be published.