सिमरा गोल्ड कपमा १० लाख सहयोग गर्ने को ?

बारा- मोफसलकै सबैभन्दा धेरै धनराशि पुरस्कार भएको बाराको सिमरामा सञ्चालित सिमरा गोल्डकप फुटबल प्रतियोगितामा सबैभन्दा धेरै आर्थिक सहयोग गरेका व्यक्ति सार्वजनिक हुन चाहँदैनन्। सो प्रतियोगिताका लागि एक अज्ञात व्यक्तिले बैंकमार्फत रु १० लाख १० हजार सहयोग गरेकाले दर्शक तथा सर्वसाधारणका लागि प्रतियोगिताभन्दा उनको सहयोग बढी चासोको विषय बनेको छ।
खेल मैदानमा आयोजक समितिले पटकपटक रकमबारे उल्लेख गर्दै अज्ञात व्यक्तिबाट रकम प्राप्त जनाउँदा दर्शकबीच व्यापक चर्चा हुने गरेको छ।
खेल सञ्चालन हुनु एकहप्ताअगाडि अचानक खातामा रकम उपलब्ध भएपछि आयोजक समितिका सदस्यहरुसमेत आश्चर्यमा परेका थिए। उनीहरुलाई पनि नाम सार्वजनिक नगर्नुको कारण थाहा छैन।
दाताहरुले कि पुण्यका लागि कि नामका लागि ठूलो रकम दान दिने गरेको त थाहा थियो तर ती व्यक्तिले त दान दिएर पनि आफ्नो नाम नै लुकाए। उनको नाम जान्न सबैलाई कौतुहल भइरहेको छ- सिमराकी सीतामाया लामाले भनिन्।
यति ठूलो रकम दिएर पनि नाम सार्वजनिक गर्न नचाहेकामा उनी मात्रै होइनन्, यहाँका अधिकांश व्यक्ति आश्चर्यमा परेका छन्।
आफ्नो धन दिन पनि लुकेर किन दिनु पर्योर र? नाम र दामको पछाडि लाग्नेहरुको भीडमा उनी भिन्न व्यक्ति रहेछन्’- पथलैयाका यानाप्रसाद भट्टले भने। तर, नाम सार्वजनिक नगर्नुको कारण थाहा पाउन पाए झन रोचक हुने उनको भनाइ छ।
दाताले बैंकमार्फत रकम उपलब्ध गराएको प्रतियोगिता आयोजक समितिले जनाएको छ। खेल संयोजक कासीम मियाँले एभरेस्ट बैंकमा खोलेको खातामा प्रतियोगिताका लागि उनले नगद जम्मा गरेका थिए।
प्रतियोगिता सञ्चालन समितिका अन्य सदस्यलाई दाताको बारेमा जानकारी नभए पनि संयोजक कासिम मियाँलाई भने जानकारी भएको हुनसक्ने अनुमान धेरैले गरेका छन्।

फाइल तस्बिर
फाइल तस्बिर

‘नाम बताउन नचाहने एक आदरणीय व्यक्तिले रकम उपलब्ध गराउनुभएको’ खेल संयोजक कासीम मियाँले बताए।
उनी खेल प्रेमीभन्दा पनि प्रतियोगिता सञ्चालन भएको ठाउँ सिमरा प्रेमी भएकाले सहयोग गरेको दाबी गर्दै दाताले नाम सार्वजनिक नगर्न अनुरोध गरेकाले बताउन नमिल्ने कासीमले जानकारी दिए।
पूर्व राजा-रानी ज्ञानेन्द्र र कोमल २५ दिन बसाइका लागि बिहीबार सिमरा आइपुगेकाले उनले नै गोप्य रुपमा आर्थिक सहयोग गरेको हुन सक्ने स्थानीयवासीले अड्कल काट्न थालेका छन्।
‘पूर्व राजा ज्ञानेन्द्रले गोप्य रुपमा सहयोग गरेको हुनसक्छ। तर, नाम बताउन किन अप्ठ्यारो माने यो उनकै कुरा हो। दर्शक राजकुमार फुयाँलले भने।’ शाह परिवारका नजिकका मानिसहरुको बसोबास रहेको सिमरामा ज्ञानेन्द्र र उनका परिवार बेला बेलामा आउने गरेका छन्।
विजेता र उपविजेतालाई क्रमशः पदकसहित रु चार लाख र रु दुई लाख नगद दिइने सो प्रतियोगिता माघ २३ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन हुनेछ। रासस

Leave a Reply

Your email address will not be published.