देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैन

sher_Bahadur_Deuba-copy_20130120082432

देउवाको जवाफ- थारुलाई ‘एक इन्च पनि दिन्न’ भनेको छैननेपाली कांग्रेसका सभासद् शेरबहादुर देउवाले थारुलगायतका अल्पसङ्ख्यक समुदायलाई अधिकार दिन्न भनेर आफूले कहिल्यै कहीँ कतै पनि नभनेको बताएका छन्। संविधानसभामा आफ्नो धारणा राख्दै उनले अल्पसङ्ख्यक समुदायलाई अधिकार सम्पन्न बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘कमैया र हलियाको मुक्तिका पक्षमा निरन्तर काम गर्दै आएको र सोही समुदायलाई अधिकार सम्पन्न बनाउन लागेको व्यक्ति भएकाले थारुलाई एक इन्च पनि दिन्न भनेर चलाएको हल्लामा कुनै सत्यता छैन, बोल्दै नबोलेको कुरा भड्काएर स्वार्थसिद्ध गर्न लागियो। मैले कहिल्यै पनि गलत मनसाय राखेको छैन।’

थारु र पहाडी समुदायबीच शान्तिपूर्ण आन्दोलन गर्ने सहमति भएको भोलिपल्ट प्रहरी अधिकृत र बालकको हत्या हुनु मानवताविरुद्धको अपराध भएको बताउँदै सभासद् देउवाले सो समुदायलाई सांस्कृतिक, राजनीतिक अधिकारसहित संरक्षित क्षेत्र वा स्वायत्त क्षेत्र बनाउन सकिने धारणा राखे।

उनले आफू जिल्ला टुक्र्याउनु हुन्न भन्ने पक्षमा दृढ रहेको भन्दै थारु समुदायलाई अधिकारसम्पन्न बनाउनुपर्ने बताए। थारु समुदायको परम्परागत काम र प्रचलनलाई कानुनी र संवैधानिक मान्यता दिएर एकै ठाउँमा मिलेर बस्नुपर्ने र कर्णालीदेखि गण्डकीसम्म, बर्दियादेखि नवलपरासीसम्म थारुकै प्रदेश बनेको उनको कथन थियो।

सभासद् देउवाले नेपालमा सङ्घीयता नयाँ प्रयोग रहेको भन्दै त्यसलाई आगामी दिनमा थपघट गर्न सकिने उल्लेख गरे। हाल प्रस्तावित संविधानको विधेयक यान्त्रिक नभएको उल्लेख गर्दै उनले आगामी दिनमा संशोधन गर्न सकिने र मिलाउन सकिने बताए। रासस

Leave a Reply

Your email address will not be published.