जेठमै चुनाव हुने गरी सहमति हुन्छ : प्रधानमन्त्री भट्टराई

baburam bhattaraiकाठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी जेठको मध्यसम्ममा अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्ने गरी केही दिनभित्रै राजनीतिक निकास निस्कने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री डा भट्टराईले भने, “देशमा विद्यमान लामो राजनीतिक गत्यावरोधको अँध्यारो सुरुङबाट अब हामी छिट्टै समाधानको उज्यालोतिर उद्धत हुँदैछौं।”
उनले वर्तमान सरकारले नै नयाँ निर्वाचनको घोषणा गरेको हुँदा त्यसमा केन्द्रीत रहेर निस्कने समाधानमा सरकार पूर्णरुपले प्रतिबद्ध रहने विश्वास दिलाए।
आज विश्व समुदायकै चुनौतीपूर्ण कार्यको रुपमा रहेको भ्रष्टाचारजन्य कार्यले नेपाललाई पनि आक्रान्त पारेको स्वीकार गर्दै प्रधानमन्त्री भट्टराईले लोकतन्त्रलाई संस्थागत विकास र सुदृढीकरण गर्न स्वच्छ, पारदर्शी, जिम्मेवार र भ्रष्टाचारमुक्त राज्य संयन्त्रको स्थापनाबाट मात्र सम्भव रहेको बताए।
नयाँ समुन्नत नेपालको लागि भ्रष्टाचारमुक्त समाज र सुशासन नै प्रमुख शर्तहरू रहेको बताउँदै प्रधानमन्त्रीले भने, “भ्रष्टाचारलाई जरैदेखि नकाटेसम्म समाजमा पक्षपात, भेद्‍भाव र शोषण रहिरन्छ र सोचेको जस्तो सुशासन कायम गर्न सकिंदैन, जसले नेपालको विकासलाई वर्षौंसम्म पछि धकेल्नेछ।”

भ्रष्टाचारजस्तो सामाजिक अपराध देशबाट तुरुन्त अन्त्य हुन जरुरी छ भन्ने ठहर गरेर नै सरकारले भ्रष्टाचार नियन्त्रणको विषयलाई प्राथमिकतामा राखेर यसविरुद्धको शून्य सहनशीलता आम मानसमा विकास गर्ने प्रयत्न भइरहेको उनले बताए।
भ्रष्टाचारविरुद्धको कारबाहीलाई सशक्त बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै उनले आयोगका पदाधिकारी नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला व्यवस्थापिका–संसदको अवसान भई यो प्रक्रिया अझै पूरा हुन नसेकेकामा आफू दुःखित रहेको बताए।
अहिले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो कर्तव्य राष्ट्रसेवकको हातमा रहेकाले यसविरुद्धको अभियानमा सबैलाई आजैदेखि लाग्न प्रधानमन्त्री भट्टराईले निर्देशन दिए।
नयाँ संविधानमा भ्रष्टाचार निवारणको क्षेत्रमा आयोगको विद्यमान भूमिकालाई अझै सशक्त बनाई भ्रष्टाचारमुक्त समाजका साथै सुशासनको अनुभूति दिलाउनु आजको ज्वलन्त आवश्यकता छ भने।
आयोगका सचिव गणेशराज जोशीले अहिलको विषम परिस्थितिमा समेत आयोगले वर्षभरि गरेका काम कारबाहीका बारेमा प्रकाश पारेका थिए। आयोगले एक वर्षको अवधिमा १ सय ११ वटा मुद्दा दायर गरेको, जरिवानावापत रु ४७ करोड राजस्व उठाउन सफल भएको र एक हजार ९ सय रोपनी जग्गा नेपाल सरकारको नाममा कायम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको उनले जानकारी दिए।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुबहादुर केसीले जतिसक्यो छिटो अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा रिक्त रहेको पदाधिकारी नियुक्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिए।
देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको, मुलुक भ्रष्टाचारको दलदलमा भासिएको अहिलेको अवस्थामा नेपाली जनता र विश्व समुदायसामु नेपाली हौं भन्ने सन्देश दिनसमेत लज्जाबोधको स्थिति सिर्जना भएको उनले बताए।
आयोगका सहन्यायाधीवक्ता ऋषिराम दवाडीले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूले भ्रष्टाचारजन्य अनुचित कार्य गरेमा त्यसलाई रोक्ने उद्देश्यले संविधानमै व्यवस्था भएको आयोगले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको बताए।
सो अवसरमा आयोगका पूर्व सचिवद्वय जीतबहादुर मानन्धर र अम्बिकाभक्त शर्मालाई कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। समारोहमा आयोगको स्थापना दिवसको अवसरमा आयोजना गरिएको निबन्ध र कार्टुन प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार एवं प्रमाणपत्र प्रदान गरियो। रासस

Leave a Reply

Your email address will not be published.