मोबाइलबाटै क्यानको जानकारी

सूचना प्रविधि मेला इन्फोटेकको आयोजक कम्प्युटर एसोसिएन अफ नेपाल(क्यान) को सहकार्यमा नेपवेज प्रालिले ग्राहकलाई मोबाइलबाटै मेलाको जानकारी दिने व्यवस्था मिलाएको छ। अवलोकनकर्ताले इन्फोटेकमा राखिएका विभिन्न कम्पनीका स्टल र स्टलमा राखिने उपकरण एवं सेवाको जानकारी हासिल गर्नसक्ने भएका छन्। नेपवेजले विकास गरेको ‘एन–लोकेट’ नामक स्मार्टफोन एप्समार्फत अवलोकनकर्ताले यस्तो जानकारी पाउनेछन्। 
क्यान इन्फोटेकको जानकारी लिन अवलोकनकर्ताले प्रयोग गर्ने मोबाइल भने स्मार्टफोन हुनुपर्नेछ। एप्पल र गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमयुक्त स्मार्टफोनमा यो सुविधा उपलब्ध हुने नेपवेजका प्रमुख कार्यकारी अधिकृत दीपेन चापागाईंले बताए। ‘अहिले हामीले कम्पनीहरू, क्यानमा उनीहरू रहने स्टल र त्यहाँ राखिने सामग्रीबारे मात्र जानकारी राखेका छौँ,’ उनले भने, ‘चाँडै स्टलमा राखिने सामग्रीका तस्बिर पनि राख्दै छौँ।’
राजधानीको भृकुटीमण्डपमा माघ २४ देखि २९ गतेसम्म हुने क्यान इन्फोटेकको १९ औँ संस्करणमा विभिन्न कम्पनीले नयाँ–नयाँ सूचना प्रविधिसम्बन्धी सामग्री प्रदर्शन गर्नेछन्। सूचना प्रविधिसम्बन्धी नेपालको सबैभन्दा ठूलो मेलाको रूपमा चिनिएको क्यान इन्फोटेकमा सूचना प्रविधिको प्रयोगलाई बढाउन यस्तो सुविधा सुरु गरिएको उनले बताए। ‘यसले सबैलाई सूचनाप्रविधि प्रयोगतर्फ आकर्षित गर्नेछ,’ उनले भने, ‘समय कम हुनेलाई सजिलो पनि हुनेछ।’
स्मार्टफोन प्रयोग नगर्ने ग्राहकले पनि प्रदर्शनी गरिने सामान तथा सेवाबारे एसएमएसमार्फत जानकारी पाउनेछन्। यसका लागि ग्राहकले म्यासेज बक्समार्फत ‘क्यान’ लेखेर स्पेस दिई आफूले चाहेको सामान वा ब्रान्डको नाम टाइप गरी ५००१ पठाउन सक्नेछन्। स्प्यारो एसएमएससँगको सहकार्यमा यो सेवा सुरु गरिएको हो।

Leave a Reply

Your email address will not be published.