फेसबुकमा मानसिक अवस्थाको संकेत

व्यक्तिको फेसबुक प्रोफाइलले उसको मानसिक समस्या पहिचान गर्न सक्ने देखिएको छ। युनिभर्सिटी अफ मिसौरीले सामाजिक सञ्जालबारे गरेको अध्ययनले यस्तो निष्कर्ष बाहिर ल्याएको हो। मनोविज्ञ डा. एलिजाबेथ मार्टिनले गरेको अध्ययनअनुसार फेसबुक प्रोफाइललाई मानसिक रोगीको अवस्था बुझ्न प्रयोगमा ल्याउन सकिन्छ।
मार्टिनको समूहले दुई सय कलेज विद्यार्थीबीच सर्वेक्षण गरेको थियो। अध्ययनका क्रममा विद्यार्थीलाई फेसबुक लग गर्न लगाइएको थियो। उनीहरूलाई अध्ययनमा समेटेलगत्तै उनीहरूको फेसबुक प्रोफाइल अध्ययनकर्ताले प्रिन्ट गरेका थिए र त्यसको परीक्षण गरिएको थियो। ‘उनीहरूले आफ्नो फेसबुक गतिविधि देखाएपछि हामीलाई उनीहरूको मानसिक अवस्था बुझ्न सहज भएको थियो,’ मार्टिनले भने।
सामाजिक गतिविधिमा नरमाउनेहरूले सामाजिक सञ्जालको छलफलबाट सन्तुष्टि लिन नसक्ने अध्ययनले देखाएको छ। यस्ता व्यक्तिका फेसबुक साथी पनि कम हुने र उनीहरूले थोरैमात्र फोटो सेयर गर्ने गरेको अध्ययनले पत्ता लगाएको छ। यस्तो मानसिक अवस्थाका व्यक्तिहरूले फेसबुक पनि धेरै अन्तरालमा खोल्ने गरेको पाइयो।
जसले आफ्ना फेसबुक गतिविधिबारेको प्रोफाइल दिनुअघि केही कुरा लुकाए, उनीहरूमा पारानोइयाको लेभल केही माथि रहेको पाइयो। यो लेभल बढी हुनुको अर्थ उनीहरू आफूलाई कम विश्वास गर्छन् र अरूले केही भन्लान् भन्ने डरमा हुन्छन् भन्नु हो। यस्तो मानसिक अवस्था भएका वा सामान्य अवस्थामा नै रहेका मानिसहरूले सेयर गर्ने सामाजिक सञ्जालका म्यासेजमा भने खासै फरक पाइएन।

Leave a Reply

Your email address will not be published.