ओलीलाई प्रधानमन्त्री बनाउन थारुका देउतालाई रेशम चौधरीको भाकल

रेशम चौधरीले आफ्नो पुस्तक ‘टिकापुर घटनाको चिरफार’मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन भगवानलाई रक्सी चढाएको खुलाएका छन्।
किताबमा तत्कालीन प्रधानमन्त्री ओलीलाई चिठी लेख्दै रेशम चौधरीले आफू थारु भएको नाताले आफ्ना देवतालाई दारुको छाँकी चढाएको उल्लेख गरेका छन्। त्यतिमात्र उनकी श्रीमती रञ्जिताले पनि प्रधानमन्त्री बनाइदिनु भनेर देवतालाई पुकार गरेकी किताबमा उल्लेख छ।

‘मेरी श्रीमती रञ्जिता हरेकपटक मन्दिर जाँदा यही कामना गर्थिन् र भन्थिन् थाहा छ राजा, केपी ओली प्रधानमन्त्री नै बन्नुपर्छ। टीकापुरको मञ्चबाट प्रधानमन्त्री हुने आशिष उनले तपाइँलाई दिँदा हजारौं जनताको ताली गडगडाहत भई बजेको थियो तर प्रधानमन्त्रीज्यु, तपाईँलाई टीकापुर ल्याउन मैले कम्ति मेहनत गर्नुपरेन। तपाईँलाई टीकापुर नल्याउन तपाईँकै जिल्ला कमिटी एमालेले निर्णय गरेको थियो,’ उनले किताबमा लेखेका छन्।

उनले ओलीलाई आफ्नो रेडियो फूलबारी एफएमको वार्षिकोत्सवमा निमन्त्रणा गरेको र हेलिकोप्टरमार्फत् काठमाडौं पठाएकोसमेत उल्लेख गरेका छन्।
उनले राष्ट्रियता फूलाएको देख्दा आफूलाई खुसी लागेको र आफू पनि राष्ट्रियताकै मलजल गर्ने माली भएको बताएका छन्। उनले आफूहरुलाई गुलाबसँग तुलना गर्ने ओलीलाई आग्रह गरेका छन्। जसमा काँडा भएपनि प्रेमको प्रतीक र सुबास गाढा हुने बताएका छन्।

उनले ओलीसँग केही गुनासासहितको प्रश्न सोधेका छन्। उनले सुर्खेती, हुम्ली, जुम्लीजस्तै आफूहरु पनि अखण्ड सुदूरपश्चिम रहन चाहन्नौं भनेका छन्।

‘नरहने इच्छा जाहेर गर्दैमा एउटालाई खुरुक्क अधिकार दिइहाल्ने अनि आफ्नो नश्लभन्दा फरकका थारुहरुलाई चाहिँ जति आन्दोलन गर्दा पनि नदिने? जसले तपाईँ प्रधानमन्त्री हुनुका लागि रातदिन मन्दिरमा धाइन् उनी आज दशैंमा लोग्नेले लगाउने टीकाबाट वञ्चित भइन्। जुन एफएमको वार्षिकोत्सवको उद्घाटन गर्नुभयो त्यसलाई टीकापुरका लुटेरा बदमास समूहको बथानले जलाएर खरानी बनाइदिएका छन्। थारुको एफएम जल्यो, पत्रकार महासंघ बोलेन, रेडियोकर्मीका संघ संस्था बोलेनन्, जसले मेरा सम्पत्ति लुटे, आगजनी गरे ती सबै टीकापुरमा स्वतन्त्र छन्। भन्नुस् प्रधानमन्त्रीज्यु, कारबाही तपाईँले गर्ने कि मैले गर्ने। मैले गरे कानुनविपरीत होला, तपाईँले गरे मैले न्याय पाएको ठहरिएला। मैले गर्दा त आतंककारीको बिल्ला भिराउने होला, होइन त?’ उनले किताबमा प्रश्न गरेका छन्।

यो पनि पढ्नुस्:

रेशम चौधरीको बयान : यसकारण प्रचण्ड भेट्न म दिल्ली पुगेँ

Leave a Reply

Your email address will not be published.