व्यक्तिगमा भिसामा जानु असुरक्षित

डी. विनोद- वैदेशिक रोजगारीका ठग र दलालहरूले अहिले फरक ढंगले पैसा कमाउने बाटो बनाइरहेका छन्। वैदेशिक रोजगारीका ठगी र एजेन्टको बिगबिगीविरुद्ध कानुनी उपचारका घटना बढ्न थालेपछि उनीहरूले फरक किसिमले ठगी धन्दा चलाउन थालेका छन्। २०६४ सालमा नेपाली महिला पनि वैदेशिक रोजगारीमा जाने प्रावधानमा सरकार खुकुलो बनेपछि अहिले नेपाली महिला खाडीलगायत मुलुकमा जाने क्रम बढेको छ। तर, व्यवस्थित वैदेशिक रोजगारीका लागि सरकारले उमेर हददेखि संस्थागत रूपमा जानका लागि अपिल गरे पनि दलालहरूले व्यक्तिगत भिसामा महिलालाई खाडीसम्म पुर्‍याउन थालेका छन्। नातेदार, सम्बन्धको आधार देखाएर उक्त काम हुन थालेपछि सरकारी अड्डाहरू श्रम स्वीकृति दिन बाध्य छन्। 

वैदेशिक रोजगार विभागको प्रांगणमा भेटिएकी कलंकी घर बताउने प्रीति कटुवाल मामा भन्ने गाउँका एक व्यक्तिले भिसा पठाएपछि कुवेत जाने तयारी गरेको बताउँछिन्। उनी श्रम स्वीकृतिका लागि विभागको कार्यालय आएकी हुन्। भन्छिन्, ‘उहाँले काम राम्रो भनेर बोलाउनुभयो, अनि म पनि जान लागेकी हुँ। आफ्नी पाँच वर्षीया छोरीलाई माइतमा छाडेर उनी धन कमाउन कुवेत जान लागेकी हुन्।
घरेलु कामदारका लागि कुवेत जानलाई विभागका विभिन्न फाँटमा आफ्ना कागजपत्र मिलाउन व्यस्त हुने महिला कम छैनन्। अधिकांश ग्रामीण भेगबाट आएका महिला घरेलु कामदारका लागि कोही न कोही आफन्त, साथीभाइले पठाएको भिसाको आधारमा श्रम स्वीकृति लिन तल्लीन देखिन्छन्। ‘गाउँका दाइले हाउसमेडको जागिरका लागि भिसा झिकिदिएपछि जान लागेकी हुँ। कम खर्चमा राम्रै आम्दानी हुन्छ भन्ने लागेर जान लागेकी,’ सिन्धुपाल्चोककी गीता राइले भनिन्।
सरकारले सकभर व्यक्तिगत भिसाका आधारमा वैदेशिक रोजगारीमा नजान अपिल गर्छ। अझ महिलालाई व्यक्तिगत भिसामा नजान विभिन्न प्रकारका सन्देश पनि दिइने गरिएको छ। यद्यपि, यस्ता सन्देश र परामर्शको बेवास्ता गर्ने क्रम भने बढेको बढ्यै छ। व्यक्तिगत भिसामा कुवेत जाने महिलाहरूको संख्या अझ तीव्र रूपमा बढेको पाइएको छ। सरकारी तथ्यांकले नै उक्त आँकडा सार्वजनिक गरेको छ। पुस महिनाको तथ्यांकले मात्र खाडी मुलुक कुवेतका लागि व्यक्तिगत भिसामा जाने महिलाहरूको संख्या उच्च देखाएको छ। त्यहाँ संस्थागत रूपमा जाने पुरुषको संख्या पनि उच्च पाइएको छ। ४८ जना पुरुष व्यक्तिगत रुपमा पुस महिनामा कुवेत पुगेका थिए तर छ सय दुई जना महिला व्यक्तिगत भिसाका आधारमा घरेलु कामदारका लागि कुवेत पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। संस्थागत रूपमा एक हजार ५२ जना पुरुष कुवेत पुगेका छन् भने १३ जना महिलामात्र संस्थागत रूपमा कुवेत गएका छन्।
संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामलाई सुरक्षित रोजगारीका रूपमा व्याख्या गरिएको छ। ‘व्यक्तिगत भिसामा जानेलाई न रोक्न सकिन्छ, न निषेध नै गर्न। तर, व्यक्तिगत रूपमा नजाँदा राम्रो भन्ने सन्देश प्रवाह चाहिँ भएको छ,’ विभागका एक अधिकारीले भने, ‘मुलुकलाई राजश्व र रेमिट्यान्स चाहिएको छ, नेपालीलाई रोजगार। त्यसकारण पनि हामी बाध्य भएर श्रम स्वीकृति दिइरहेका छौँ।’

शुक्रबार साभार

Leave a Reply

Your email address will not be published.