तलब नपाएको झोकमा शिक्षकले स्कुल बन्द गरे

चितवन- लामो समयदेखि आफूहरुले तलब नपाएको भन्दै चितवनको विकटमा रहेको माडी बाँदरझुला निमाविका शिक्षकले विद्यालय बन्द गराएका छन्। शिक्षकहरुको आन्दोलनका कारण माडी अयोध्यापुरी– ९ मा रहेको बाँदरझुला निमावि विगत पाँच दिनदेखि बन्द हुन पुगेको छ। दस महिनादेखि तलब नपाएकाले आफूहरु गत शुक्रबारदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रनु परेको शिक्षक माधव पौडेलले बताए। 
उनका अनुसार आफूहरुको मागका सम्बन्धमा व्यवस्थापन समितिसँग छलफल भइरहेको भए पनि निष्कर्षमा पुगेको छैन। माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने शिक्षकले बताएका छन्।
सो विद्यालयमा एकजना राहत कोटा र चार जना निजी स्रोतका शिक्षक छन् भने एक जना सहयोगी रहेका छन्। शिक्षकले प्रतिव्यक्ति मासिक आठ हजार २०० का दरले १० महिनाको तलब पाउनुपर्ने माग गरेका छन्। विगत पाँच दिनदेखि विद्यालय ठप्प हुँदा यहाँ अध्ययनरत करिब ४०० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। रासस

Leave a Reply

Your email address will not be published.