दुई महिनादेखिको तालाबन्दीले पठनपाठन प्रभावित

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा रहेको शारदा विद्यापीठमा कर्मचारी र प्राचार्यबीचको विवादले तालाबन्दी हुँदा दुई महिनादेखि पठनपाठनको कार्य प्रभावित भएको छ। विद्यापीठका कर्मचारीहरुले प्राचार्यको राजीनामासहित सेवासुविधा बढाउनुपर्ने माग अघि सार्दै मङि्सर १३ गतेदेखि तालाबन्दी गरेका हुन्। संस्कृत पढाइ हुने यहाँको एक मात्रै क्याम्पसमा लामो समयदेखि तालबन्दी हुँदा यहाँ अध्ययनरत विद्यार्थीको पठनपाठनको कार्य पूर्णरुपमा प्रभावित हुँदै आएको छ।

विद्यापीठको कार्यालयको कार्यसमेत ठप्प रहेको छ। विद्यापीठमा भएको विवाद साम्य पार्नका लागि सर्वपक्षीय बैठक बोलाइए पनि बैठक बिनानिष्कर्ष टुङि्गएको छ। आन्दोलनरत कर्मचारीहरुले विद्यापीठमा भएको अनियमियताको विश्वविद्यालयको उच्चस्तरीय समितिद्वारा छानबिन हुनुपर्ने र प्राचार्यले राजीनामा दिनुपर्ने कुराहरु अघि सारेपछि प्राचार्य आफ्नै अडानमा रहेकाले सहमति हुन नसकेको विद्यापीठका कर्मचारी इकाईका अध्यक्ष बलराम पन्तले बताए। विद्यापीठमा लगाइएको तालाबन्दी भने यथावत रहेको छ। रासस

Leave a Reply

Your email address will not be published.