जो परे परिबन्दमा

डी. विनोद- पैसा कमाएर परिवारलाई सुख दिने सपनाले संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दार्चुलाका अमरबहादुर बम झन्डै १० वर्षदेखि दुबई जेलमा छन्। भारतीय नागरिकको हत्यामा संलग्न भएको अभियोगमा उनले मृत्युदण्डको सजाय पाएका थिए। उनको ज्यान जोगाउने अभियानका लागि परिवार अहिले पनि हारगुहार गरिरहेको छ। भारतीय नागरिक सरद सेट्ठीको हत्या गर्ने भारतीयहरू मनोज मुदाना र करनसिंह राजपुतले उनलाई गाडी चलाउन लगाएका थिए। उनको अपराधमा कुनै संलग्नता थिएन। मनोज र करनसिंहले अमरबहादुर बेकसुर रहेको र उनले व्यावसायिक चालकको भूमिकामात्र निर्वाह गरेको बताइसकेका थिए। तर, हत्याको अभियोग लागेका उनलाई युएई सरकारले दोषी ठहर गरी जेल चलान गरेको थियो। 
अमरबहादुरकी श्रीमती धनमती श्रीमान्को जीवन रक्षाको माग गर्दै गत वैशाख २५ गते सिंहदरबार पुगेकी थिइन्। उनले सरकारलाई अमरको जीवन रक्षाको पहल गरिदिन आग्रह गरेकी थिइन्।
केही दिनअघिमात्र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अमरबहादुरको ज्यान जोगाउन युएई सरकारसँग पहल गर्ने बताएका छन्।
संगिन अपराधको अभियोगमा जेल परेका अमरबहादुरको जीवन रक्षाका लागि प्रवासी नेपाली समन्वय समिति, त्यहाँ रहेका नेपाली संघसंगठन र नेपाल सरकार पनि सक्रिय रूपमा लागि परेको संकेत देखिएको छ।

विदेशी भूमिमा अमरबहादुरजस्तै परिबन्दमा परेका नेपाली थुप्रै छन्। लागुपदार्थ कारोबारको अभियोगमा परेर नौ वर्र्षदेखि मलेसियाको कारागारमा रहेका नुवाकोट, बसुन्चेत–१ का हरिबहादुर घले पनि मृत्युदण्डको सजायको भागिदार बनेका छन्। घलेको बचाउका लागि विभिन्न संघसंस्थाले आवेदन दिए पनि त्यसलाई खारेज गरी क्वालालम्पुर अदालतले उनको मृत्युदण्डको सजाय सदर गरेको थियो। घले सन् २००३ मा पक्राउ परेका थिए। मलेसियामा तीन वर्र्ष काम गरी घर फर्किने क्रममा होटलको कोठामा बसिरहेकै बेला घले पक्राउ परेका थिए। घलेले आफ्ना साथी गणेश तामाङको आग्रहमा झोला बोकेका थिए। त्यही झोला खानतलासी हुँदा आठ सय ७५ ग्राम हिरोइन फेला परेको आधारमा प्रहरीले घलेलाई पक्राउ गरेको मलेसियास्थित नेपाली दूतावासले जनाएको थियो।
गत साउनमा मलेसिया गएका दाङ गढवाका अख्तर अहमद एक इन्डोनेसियन केटीसँग अवैध शारीरिक सम्बन्ध राखेको अभियोगमा जेल परेका थिए। उनलाई दुई लाख ५० हजार रुपैयाँ धरौटी माग गरी मलेसियाको अदालतले म्याद थप गरेको थियो। धरौटी तिर्न नसकेपछि उनी जेल बस्नुपरेको थियो। उनको रिहाइका लागि सरकार तथा मानव अधिकारवादी संघसंस्थासँग उनको परिवारले अपिल गरेको थियो।
वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा परिबन्दमा परी सजाय भोगेका केही उदाहरणमात्र हुन् यी। यीभन्दा बाहेक जाली राहदानी, अवैधानिक कामदारका रूपमा भागेका कारण तथा विभिन्न अभियोगमा थुप्रै नेपालीले अहिले समस्या भोगिरहेका छन्। सम्बन्धित मुलुकको दूतावाससम्म पहुँच नभएकाहरूको तथ्यांक आउन सकेको छैन। प्रवासी नेपाली समन्वय समितिका अनुसार यसरी समस्यामा परेका आधिकारिक तथ्यांक आउन सकेका छैनन्। अहिले अमरबहादुरको जीवन रक्षाका लागि समितिले पहल गरिरहेको छ। सम्पर्कमा आउन नसकेकाहरूको अवस्थाबारे पनि अध्ययन थालिएको छ।

धेरै नेपाली श्रमशक्तिको गन्तव्य बनेको मलेसिया र कतारमा यसरी परिबन्दमा परी सजाय भोग्नेहरू थुप्रै छन्। तर, तिनको यकिन तथ्यांकभने आउन सकेको छैन। सरकारले पनि त्यस्ता तथ्यांकबारे चासो देखाएको छैन।

रोजगारीका लागि आफू जाने देश र त्यहाँको कानुनबारे राम्रोसँग जानकारी नराख्दा नेपालीहरू परिबन्दमा फस्ने गरेका छन्। ‘केही घटनामा निर्दोषहरूले सजाय भोगिरहेका छन्,’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी निर्देशक गिरिजा शर्माले भनिन्, ‘यसबारे कामदार र कामदारको सुरक्षाको विषयमा काम गर्नेले पनि ध्यान दिन आवश्यक देखिन्छ।’

Leave a Reply

Your email address will not be published.