डी. विनोद- दलालका भरमा खाडी पुग्ने महिलाका कथा–व्यथा देशैभरि छरिएका छन्। घरेलु कामदारका रूपमा खाडी जान चाहने महिलालाई त्यता पठाउन दैनिक सयौँ दलाल श्रम विभाग धाइरहेका हुन्छन्। वैदेशिक रोजगार विभागमा पनि दलालहरूको भीड देखिन्छ। वैदेशिक रोजगारीमा ठगीको तरिकामा परिवर्तन पनि भएको छ। पहिला अवैध रूपमा भिजिट भिसा वा तेस्रो मुलुक हुँदै पठाउनेहरू अहिले वैध रूपमा व्यक्तिगत श्रम स्वीकृतिमा पठाउने गरेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकमा व्यक्तिगत भिसामा विदेश जानेको संख्या बढेकाले पनि वैधानिक ठगी बढ्न थालेको हो। गोर्खाकी कल्पना पौडेल व्यक्तिगत भिसामा साउदी अरेबिया जाने तयारीमा छिन्। उनलाई थाहा छैन, साउदीमा के काम गर्ने भन्नेबारे। तर, छिमेकीको भर परेर उनले पठाएको भिसाको आधारमा उनी वैदेशिक रोजगारीमा जान लागेकी हुन्। उनी हाउसमेडमा नै जान लागेकी हुन्। भन्छिन्, ‘छिमेकी दाइले पठाएको भिसाका आधारमा नै जान लागेकी हुँ। श्रम स्वीकृतिका लागि विभागमा निवेदन दिएकी छु।’ यसरी व्यक्तिगत भिसामा परदेशमा घरेलु काम गर्न जाने महिला थुप्रै छन्।
झापा, दमक–१० की लक्ष्मी सुनार एक वर्षअघि साउदी अरबमा घरेलु कामदार भएर पुगेकी थिइन्। उनी पनि व्यक्तिगत भिसामा पुगेकी हुन्। सुनसरी, बबियाकी मञ्जुदेवी उराव हुन् वा नवलपरासी, सुनवलकी सिर्जना श्रेष्ठ, व्यक्तिगत भिसामा साउदी अरबमा घरेलु कामदार भएर पुगेका नेपाली महिला कामदार थुप्रै छन्।
कतिपय दलालले वैदेशिक रोजगारीमा लैजाने नाममा महिलाहरूलाई बन्धक बनाएर पनि राख्ने गरेका छन्। घरेलु कामदारका लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढिरहँदा ठगीका घटनाहरू पनि बढ्न थालेका छन्। घरेलु कामदारका लागि कम्पनीको नियम नभएका कारण अहिलेसम्म विदेश पुगेका सबै महिला व्यक्तिगत भिसामा गएका वैदेशिक रोजगार विभागले जनाएको छ। तर, विभागले व्यक्तिगत भिसालाई निरुत्साहित गर्न र घरेलु कामदारमा जाने महिलाको सुरक्षालाई पनि ध्यानमा राखी कम्पनी सम्झौताको नियमन गरेको छ। तर, यस्तो नियमनलाई प्रभावकारी ढंगले लागु गर्न सकिएको छैन। यद्यपि, सरकारले मन्त्री परिषद्बाटै घरेलु कामदारमा जाने महिलाको उमेर हद तोकिदिएको छ। सरकारी अधिकारीहरू नेपाली महिला कामदार तेस्रो मुलुकमा यौनजन्य हिंसामा परेका खबर र गुनासा आउन थालेपछि यस्तो नियमन लागु गरिएको दाबी गर्छन्। तर, सरकारको यस्तो नियमले पनि वैदेशिक रोजगारीमा जानेको संख्यालाई न्यूनीकरण गर्न सकेको छैन। ‘बढ्दो बेरोजगारीका कारण वैदेशिक रोजगारीमा जाने महिलाको संख्या कम हुन सक्तैन तर त्यसलाई सुरक्षित बनाउन सकिन्छ।’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अशोक गौतम भन्छन्, ‘सुरक्षित वैदेशिक रोजगारीका लागि हामीले प्रवर्द्धनका काम गरेका छौँ। महिलाका सवालमा पनि काम गरिरहेका छौँ। त्यसकारण उनीहरूले पनि बुझ्नुपर्ने र चासो लिनुपर्ने हो।’
वैदेशिक रोजगारीलाई आम्दानीको स्रोतका रूपमा मात्र देख्ने तर त्यसका जोखिमबारे जानकारी नराख्ने महिला निकै छन्। पारिवारिक समस्याका कारण विभागमा श्रम स्वीकृतिका लागि लाम लागेका अधिकांश महिलाहरू सुरक्षित वैदेशिक रोजगारीका बारेमा पर्याप्त जानकारी राख्दैनन्। यद्यपि सरकारले घरेलु कामदारका रूपमा जानेलाई तालिम अनिवार्य गरेको छ। पन्ध्र दिने तालिम अनिवार्य भए पनि आफू जाने मुलुकका बारेमा उनीहरूले थोरै अवधिमा पर्याप्त जानकारी हासिल गर्न सक्तैनन्। ‘घरेलु कामदारका लागि जान लागेकी हुँ। तर, मलाई त्यहाँको कानुन, भाषाबारे राम्रो जानकारी छैन। बाध्यताले जान लागेकी हुँ,’ कपिलवस्तुकी अञ्जना कार्कीले भनिन्, ‘तालिममा केही सिक्ने अवसर पाइन्छ नि।’
बिना पर्याप्त जानकारी रोजगारीमा जाने महिला थुप्रै छन्। मुलुकभरिबाट विभागमा आएका थुप्रै महिलालाई वैदेशिक रोजगारीबारे न्यूनतम जानकारी पनि छैन। उनीहरूलाई यतिमात्र थाहा छ– ‘विदेशमा गएर कसैको घरभित्र काम गर्ने हो।’ सामान्य जानकारीमात्र पर्याप्त नहुने बताउँछन्, बोर्ड अधिकारी गौतम। उनी थप्छन्, ‘विभिन्न तालिमदेखि भाषा, संस्कृति र रहनसहनबारे पनि जानकारी पर्याप्त रूपमा राख्नुपर्छ।’ उच्च संख्यामा बढिरहेको वैदेशिक रोजगारीको आकर्षणले मुलुकको अर्थतन्त्रमा सहयोग गरे पनि मानिसका व्यक्तिगत जीवन समस्यामा परिरहेका छन्। तर पनि गरिबी र आर्थिक अभावको चटारोले विदेशको झोला बोक्न बाध्य पारेका महिलाहरू कम छैनन्। वैदेशिक रोजगार विभागको यो मंसिर महिनाको प्रगति विवरणलाई ०६८/६९ सालको मंसिर महिनाको विवरणसँग तुलना गर्दा यस वर्ष ८६ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। मंसिरमा मात्र ५८ हजार आठ सय ९८ जना पुरुष तथा तीन हजार दुई सय ७८ महिलाले श्रम स्वीकृति लिएर मुलुक छाडेका छन्। यो यस आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने महिलाको पनि उच्च संख्या हो। यसै आर्थिक वर्षको साउनमा
दुई हजार सात सय ६१, भदौमा दुई हजार एक सय ७६, असोजमा दुई हजार दुई सय ६३ तथा कात्तिकमा एक हजार आठ सय ६९ महिलाले मुलुक छाडेका छन्। यस आर्थिक वर्षको मंसिर मसान्तसम्ममात्र १२ हजार तीन सय ४७ महिलाले मुलुक छाडिसकेका छन्। खाडीलगायत मुलुकमा जाने ती सबै महिला व्यक्तिगत भिसामा जाने ज्यादातर छन् भने सबै घरेलु कामदारका लागि गएका हुन्।
शुक्रबार साप्ताहिकबाट साभार