दिल्लीमा राष्ट्रपति यादव (फोटो फिचर)

भारतको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामवरण यादवले आफ्ना भारतीय समकक्षी प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भेटवार्ता गरे। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा विचारविमर्श भएको थियो। राष्ट्रपति यादवले भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेको तथा प्रत्युत्तरमा उहाँले उपयुक्त समयमा नेपाल आउने इच्छा व्यक्त गर्नुभएको बुझिएको छ।

भारतीय राष्ट्रपतिले नेपालमा जारी राजनीतिक गतिरोधबारे राख्नुभएको जिज्ञासामा राष्ट्रपति डा यादवले आगामी वैशाखमा निर्वाचन गर्न दलहरूलाई शीघ्र सहमतिमा आउन आफूले आह्वान गरेको जानकारी दिए। आजै राष्ट्रपति यादवसँग भारतीय विदेशमन्त्री सलमान खुर्शीदले भेटी भारत–नेपाल सम्बन्धबारे छलफल गरे। रासस

Leave a Reply

Your email address will not be published.