प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : सल्लाहकार पौडेल

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रतिपक्षी दलहरूले राजीनामा माग्दैमा प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन्। उनले भने, “डा भट्टराईलाई प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बनाएका हुन र? उहाँहरूले माग्दैमा राजीनामा दिने?” आज यहाँ रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा सल्लाहकार पौडेलले तत्कालीन व्यवस्थापिका संसद्को बहुमतबाट डा भट्टराई प्रधानमन्त्री निर्वाचित हुनुभएको चर्चा गर्दै निर्वाचनको सुनिश्चितता लगायतका विषयमा सहमति नभएसम्म प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न भने।

भट्टराईको नेतृत्वको वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाइने तर त्यस्तो सरकारमा नेकाँलगायत प्रतिपक्षी दलहरू सहभागी नभए वर्तमान सत्तासाझेदार दलहरूबाटै प्रधानमन्त्रीको खोजी गरिने एकीकृत नेकपा (माओवादी) पार्टीको नीति रहेको उनले बताए।

सल्लाहकार पौडेलले दलहरूबीचमा राजनीतिक सहमति भएमा प्रधानमन्त्रीले राजीनामा दिने जानकारी दिए। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले वर्तमान सरकारमा आफ्नो पार्टी सहभागी नहुने स्पष्ट पार्दै प्रधानमन्त्री पदसँग नेपाली कांग्रेसले आफ्नो सिद्धान्त नसाट्ने धारणा राखे। उनले भने– “प्रधानमन्त्रीले सत्ता लम्ब्याउनुबाहेक अरू केही सपना देख्नुभएको छैन।”

जनशक्ति पार्टीका सहअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राष्ट्रपतिबाट सहमतिको सरकार बनाउने होइन, सहमतिको सरकारका लागि दलहरूबीच नै सहमतिको आवश्यकता पर्छ भने। सहमतिको सरकार मै हुँ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले सहमति कायम गर्न अप्ठ्यारो परेको धारणा उनले राखे।

नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले प्रधानमन्त्रीले विगतमा दलहरूबीच भएका सहमति पालना नगरेका कारण राजनीतिक जटिलता थपिएको बताए। रासस

Leave a Reply

Your email address will not be published.