बर्दाियाका तेस्रोलिंगी प्रकाश थारूले नागरिकता पाए

Prakash-Tharu-baradiyaधधवार १ का प्रकाश थारू बुधबार बर्दियाका प्रशासकीय अधिकृत डिल्लीराम आचार्यको कार्यकक्षमा थिए । उनले दुवै हातका बूढीआंैलाले पुरानो ढड्डामा पालैपालो ल्याप्चे लगाए । आचार्यले एकटक उनको अनुहारमा हेरेर नेपाली नागरिकताको परिचयपत्रमा हस्ताक्षर गरिदिए । लिंगमा लेखिएको थियो- ‘अन्य’ । ‘अन्य’ भनेर प्रकाशले ४० वर्षको उमेरमा नागरिकता पाएका हुन् । नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउँदैमा उनका थुप्रै वर्ष बिते । नयाँ परिचय र पहिचानसाथ नेपाली नागरिकता लिन खोजेका प्रकाशको त्यो सपना त पूरा भएन तर ‘अन्य’ भनेर नागरिकता पाउँदा केही हदसम्म आफ्नो संर्घष पूरा भएको उनले बताए । 

‘प्रस्ट छ, म अन्य होइन । तेस्रोलिंगी हुँ,’ उनी भन्छन्, ‘तेस्रोलिंगी भनेरै नागरिकता पाउनुपर्ने दाबी मेरो थियो तर त्यसमा महिला/पुरुष पनि केही उल्लेख नगरेर अन्य भन्दा केही राहत महसुस गरेको छु ।’ नागरिकतामा बुबाको नाम/थर छ तर आमाको छैन । बाल्यकालमै परिवारले राखिदिएको प्रकाश नाम बदलेर उनले प्रतीक्षा चौधरीको नामबाट नागरिकता लिन खोजे पनि त्यो धोको पनि अधुरै रहेको बताए ।

प्रकाश ०३२ सालमा छोरा भएर जन्मिए । घरपरिवारमा खुसीको बेग्लै माहोल छायो । उमेर घर्किंदै जाँदा स्वभावमा परिर्वतन आउन थाल्यो । रुचि र आनिबानीमा आएको त्यो उच्चाटलाग्दो फेरबदलले परिवार त दुखी भयो नै समाजले पनि कुरा काट्न थाल्यो । उनी सर्ट-पाइन्ट लगाउन छाडेर कुर्ता-सुरुवालमा सजिन्थे । अलि हुर्केपछि युवतीले झैँ ओठमा लाली र अनुहारमा सिंगारपटारको लेप दल्न थालेका प्रकाशले पछि आएर मात्र आफू अरूभन्दा फरक भएको चेत पाएको बताए । युवतीको जस्तो स्वभाव भएका प्रकाश, टोलछिमेकमा हुने व्रतबन्ध, कथापर्वहरूमा युवतीको मिनिस्कट लगाएर नाच्न रुचाउँथे । त्यस्तो देखेर घरपरिवारले धेरै पटक हपारे । गाली गरे । ‘तर मेरो स्वभावमा कुनै परिवर्तन आएन,’ उनले सुनाए, ‘समाजमा बस्नै नसक्ने अवस्था आएपछि त्यो समाज नै छाडेर आफूहरूजस्ता मन मिल्ने साथीसँग बस्न-हिंड्न थाले ।’

एउटा कथाको पटाक्षेप यही भयो । प्रकाशले आफ्नो नाम बदलेर प्रतीक्षा चौधरी लेखाए । साथीहरूले त्यही नामबाट सम्बोधन गर्दा उनलाई बेग्लै खुसी हुन्थ्यो । बर्दियाको गाउँले परिबेसबाट नेपालगन्जजस्तो सहरोन्मुख र समावेशी समाजमा आएर बस्दा मनमा नयाँ रहर पलाउन थाले । प्रतीक्षा नामबाट नेपाली नागरिकताको प्रमाणपत्र लिने उनको इच्छा थियो । त्यही नाम पि्रय लाग्थ्यो ।

त्यो नाम र त्यसमा आफ्नो तेस्रो लिंगीय पहिचान जोडेर नेपाली नागरिकताका पाऊँ भन्दै उनी धेरै वर्ष प्रशासन कार्यालय धाए । तर कसैले सर्जिमिन गर्न मानेनन् । सुरुमा पुरानै नाम र पुरुष परिचयबाट नागरिकता लिन उनलाई दबाब नआएको होइन । ‘तर आफूजस्ता धेरै तेस्रोलिंगी साथीहरूको हकअधिकार र पहिचानका लागि काम गर्न चाहन्थे,’ प्रकाश भन्छन्, ‘यसपालि त्यो केही हदसम्म पूरा भएको छ ।’

बर्दियामा कुनै तेस्रोलिंगीले पहिलोपटक अन्य भनेर नागरिकता पाएको हो । यसअघि बाँके, लग्धवाकी चन्दा मुसलमानले महिला/पुरुष दुवै भनेर नागरिकता पाएकी थिइन् । ०६३ सालको घुम्ती टोलीले उनलाई नागरिकता दिएको थियो । बाँकेमा तेस्रोलिंगीको अगुवाइ गरिरहेकी पश्चिम तारा नेपालकी परिना चौधरीले सर्वोच्च अदालतले ०६४ साल पुस ६ गते तेस्रोलिंगीहरूलाई उनीहरूको पहिचानबाट नागरिकता दिन सरकारलाई आदेश दिए पनि स्थानीय स्तरमा त्यो कार्यान्वयन नभएको बताइन् । ‘समाजमा हजारौं तेस्रोलिंगी छन्,’ उनले भनिन्, ‘ती सबै आफ्नै पहिचान बोकेर हिंड्न चाहन्छन् । त्यसैले सरकारले उनीहरूको अधिकारको ख्याल गरोस् ।’ प्रकाश आफू तेस्रोलिंगी भएको परिचय दिँदा त्यसमा लज्जाबोध होइन, गर्व गर्न थालेको बताउँछन् । ‘म एक्लो रहेनछु । मजस्ताहरूको ठूलो समूह र आफ्नै संसार रहेको कुरा थाहा पाएपछि आत्मविश्वास जाग्यो,’ उनले भने, ‘त्यसपछि पहिचानका लागि हिंडियो ।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *