प्रअद्वारा बालकलाई हातखुट्टा बाँधेर कुटपिट

सप्तरी- विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर निर्घात कुटपिट गरेका छन्। विद्यालयले दिएको गृहकार्य सक्याएर नल्याएको भन्दै राजविराजस्थित प्राइम होलिक्स बोर्डिङ स्कुलका प्रधानाध्यापक सञ्जयकुमार शर्माले सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने १२ वर्षीय सन्दिपकुमार मण्डललाई विद्यालय हाताभित्रै रहेको रुखमा बाँधेर निर्घात कुटपिट गरेको पीडितका परिवारजनले बताएका छन्।
प्रअको कुटाइबाट सन्दिपको जिउभरि नीलडाम परेको छ। प्रधानाध्यापकलाई आफूले गृहकार्य बुझाउन नसकेको भन्दाभन्दै पनि आफूलाई रुखमा हातखुट्टा बाँधेर कुटपिट गरेको पीडित बालकले बताएका छन्।
आफ्ना छोरालाई चिसो मौसममा रुखमा बाँधेर निर्धात कुटपिट गर्ने प्रधानाध्यापक शर्मामाथि कारबाही गर्न सप्तरीको नर्घो गाविस घर भई राजविराजमा डेरा गरी बस्ने हरि मण्डलले माग गरेका छन्।
स्थानीय शान्ति समिति सप्तरीका संयोजकसमेत रहनु भएका पीडितका पिता मण्डलले आज पत्रकारसँग कुरा गर्दै बालबालिकालाई विद्यालयमा कुनै किसिमको यातना दिन नहुने व्यवस्था विपरीत आफ्ना छोरालाई मरणासन्न हुने गरी कुटपिट गर्ने शिक्षकमाथि कारबाहीको माग गरे।
यसैबीच बाल अधिकारको क्षेत्रमा क्रियाशील विभिन्न सङ्घ संस्थाले घटनाप्रति दुःख व्यक्त गर्दै मण्डललाई कुटपिट गर्नेमाथि कारबाही गर्न माग गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.