भट्टराईले नक्कली आँसु झारेर पदमा बस्नु उचित होइन : नेपाल

गोरखा- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर प्रधानमन्त्रीको पदमा बसिराख्नु उचित नभएको बताएका छन्। प्रेस चौतारी गोरखाले आज गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको गठबन्धन भ्रष्टाचारका लागि मात्र भएको बताए। उनले भने– “यो सरकार मुलुकका लागि असफल भइसकेको छ, एमाओवादी पार्टीले प्रधानमन्त्रीलाई तुरुन्त फिर्ता बोलाएर सहमतिको राजनीतिमा सहयोग गर्नुपर्छ।”
यही सरकारमा सहभागी भएर मुलुकलाई अग्रदिशातर्फ लैजाँदा के हुन्छ भन्ने पत्रकारहरूको प्रश्नमा नेता नेपालले भ्रष्टाचारले लिप्त वर्तमान सरकारमा सहभागी हुन अन्य दलहरूलाई सुहाउँदैन भने। संविधान सभाको निर्वाचन गर्छु भनी प्रधानमन्त्रीले बताइरहेको कुरा बहानाबाजी मात्र हो भन्दै नेता नेपालले वर्तमान प्रधानमन्त्रीले आगामी वैशाखमा संविधानसभाको निर्वाचन गर्नै नसक्ने ठोकुवा गरे।
राष्ट्रपतिले दिएको समयसीमा आजबाट सकिँदैछ, अब भोलिबाट के हुन्छ भन्ने प्रश्नमा उनले भने– नयाँ समस्या उत्पन्न हुन्छ, यसको सबै दोष एमाओवादी पार्टीलाई जान्छ। रासस

Leave a Reply

Your email address will not be published.