जोडोले दुईको मृत्यु

सप्तरी- विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण सप्तरीको जनजीवन कष्टकर बन्दै गएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको सदरमुकामसहित ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ। घाम नदेखिने गरी लाग्ने बाक्लो हुस्सु र चिसो हावाले बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। 
जिल्लामा चिसोले कठ्याङ्ग्रिएर विगत एक साताको अवधिमा दुईको मृत्यु भइसकेको छ। पछिल्लो पटक सप्तरीको बरही वीरपुर गाविस–८ निवासी ६० वर्षीय हीरालाल यादवको पुस ३ गते जाडोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको थियो। यसअघि सप्तरीको दौलतपुर–५ का ४६ वर्षीय झल्लु रामको मृत्यु भएको थियो।
सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निकै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ।
दूधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धाहरुमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका समस्या देखिएको छ। पछिल्ला चार दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ। सरकारी कार्यालयहरुमा जाने सेवाग्राहीहरुको सङ्ख्या पनि ह्वातै घटेको छ।
जिल्लामा जाडो अत्यधिक बढेपनि अहिलेसम्म जिल्ला प्रशासन कार्यालयलगायतका कुनै पनि निकायले आगो ताप्ने प्रबन्ध मिलाएको छैन। दैनिक करिब ३० देखि ५० जनासम्म उपचारका लागि आउने गरेको गजेन्द्र नारायण सिंह अस्पालले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.