जाडोले दुईको मृत्यु, जनजीवन प्रभावित

गौशाला- दुई दिनदेखि एक्कासी बढेको जाडोका कारण महोत्तरीको जनजीवन प्र्रभावित भएको छ। जाडोकै कारण दुई जनाको ज्यानसमेत गएको छ। जिल्लाको मटिहानी–९ मा एक जना मागी खाने नाम नखुलेका अन्दाजी वर्ष ७५ को वृद्धको मृत्यु भएको छ। त्यसैगरी सदरमुकाम जलेश्वर–१ मा मामा घर आइबसेका भारत सितामढी निवासी रामबाबु साहको ७ वर्षीय छोरा जीवन साहको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
बाक्लो कुहिरो, हुस्सु र चिसो हावाले गर्दा विगत दुई दिनदेखि महोत्तरीको यातायात, कार्यालय, बजार, कलकारखाना र शिक्षण संस्था समेत प्रभावित भएको छ। चिसोका कारण जिल्लाका तरकारी र तेलहन बालीसमेत कुहिन थालेको स्थानीय किसानहरुले बताएका छन्।
चिसोकै कारण अहिले जिल्लाका स्वास्थ्य संस्थाहरुमा आउने बिरामीको सङ्ख्यामा पनि अप्रत्यासित रुपमा वृद्धि भएको देखिएको छ। विशेष गरी वृद्धवृद्धा र बालबालिकाहरु चिसोबाट बढी प्रभावित भएको चिकित्सकहरुले बताएका छन्। रासस

Leave a Reply

Your email address will not be published.