मण्डपबाटै बेहुला-बेहुलीसहित सात जना पक्राउ

पाँचथर- बालविवाह गरेको अभियोगमा शुक्रबार पाँचथरमा विवाहमण्डवबाटै बेहुलाबेहुली र पुरेतसहित विवाहमा सहभागी सातजनालाई प्रहरीले नियन्त्रणमा लिई धरौटीमा रिहा गरेको छ। पाँचथर लुम्फाबुङ ५ का नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रा घिमिरे र फिदिम– २ निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमलाको विवाहका लागि बेहुला पक्षले बेहुलीको अभिभावको सहमतिबिना जग्गेमा राखेको भन्दै जिल्ला बाल क्लव सञ्जालले सो विवाह रोक्न प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। 
प्रहरीले विवाहमण्डपमा राखिएका बेहुलाबेहुलीलगायत बेहुलाका बुवा धनकुमार धमला, हजुरबुवा अमृत धमला, काका हजुरबुवा मित्रलाल धमला, दिदी रीता धमला र पुरेत पाँचथर रानीगाउँ– ८ का कृष्ण गदाललाई नियन्त्रणमा लिई धरौटीमा छाडेको हो।
नियन्त्रणमा लिइएका उनीहरूलाई जिल्ला अदालत पाँचथरको आदेशमा बेहुलाबेहुलीलाई अभिभावकको जिम्मा लगाई अन्यलाई जनही रु पाँच हजार धरौटीमा रिहा गरिएको हो।
आरोपितहरू धरौटीमा रिहा भए पनि कानुनी कारबाही प्रक्रिया जारी रहेको प्रहरी निरीक्षक गोपालप्रसाद ढकालले बताउनुभयो। बालविवाह गर्ने गराउनेलाई छ महिनादेखि एक वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना हुने कानुनी प्रावधान छ।
यस्तै जिल्ला बाल क्लब सञ्जालले एक प्रेस विज्ञप्ति जारी गरी अभिभावकको बिनाअनुमती जबर्जस्ती बालविवाह गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ। सञ्जालका जिल्ला अध्यक्ष जुनु तुम्वापो, सचिव सजना राई र सुनौलो बाल आवाज पत्रिकाका प्रधानसम्पादक सुन्दर लावतीद्वारा संयुक्तरूपमा हस्ताक्षरित विज्ञप्तिमा जिल्लामा भइरहेका बालविवह रोक्न सञ्जालले थालेको अभियानलाई साथ दिन अधिकारकर्मी, सञ्चारकर्मी र कानुन व्यवसायीसँग अनुरोध गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.