दाहाल-कोइरालाबीच समझदारी गर्ने सहमति

काठमाडौं- वर्तमान राजनीतिक सङ्कटको निकासका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुन, संविधानलगायतका विषयमा एकमुष्ट सहमति जुटाएर अगाडि बढ्ने विषयमा कुराकानी भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए।

राष्ट्रपति रामवरण यादवले चौथो पटक दिनुभएको समयसीमाभित्रै राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा दुई शीर्ष नेताबीच भेटका अवसरमा कुराकानी भएको थियो। राष्ट्रपति यादवले पुस २ गतेभित्र राष्ट्रिय सहमति कायम गर्नका लागि दलहरूलाई समयसीमा दिएका हुन्।
राष्ट्रिय सहमतिको सरकारका लागि मुख्य गरी एमाओवादी र काँग्रेसबीच नै सहमति हुनुपर्ने र दुई दलबीच सहमति भए अरू दलहरूलाई सहमत गराउन सकिनेमा दुवै शीर्ष नेता सहमत भएको बताइएको छ।
राष्ट्रिय सहमतिको सरकार गठन गरेर आगामी वैशाखभित्र संविधानसभाको नयाँ निर्वाचन गर्नुपर्नेमा दलहरू एकमत भइसकेको अवस्थामा तत्काल देशलाई सोही दिशामा अगाडि लैजानुपर्ने विषयमा उहाँहरूबीच गम्भीर छलफल भएको अध्यक्ष दाहालका सहयोगी खकुरेलले राससलाई जानकारी दिए।
नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले हिजो अध्यक्ष दाहालसँग गर्नुभएको छलफलपछि आज सभापति कोइरालासँग छलफल भएको हो। छलफलमा प्रमुख दलको बैठक तत्काल बोलाएर सबै विषयमा सहमति खोज्ने सहमतिसमेत भएको बताइएको छ। रासस

Leave a Reply

Your email address will not be published.