व्यक्तिगत भिसामा परदेशतिर

डी. विनोद- बुटवलका कविन्द्र पोखरेल कतार जाने तयारीमा छन्। उनी श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार विभाग धाइरहेका छन्। आफन्तले पठाएको भिसाका आधारमा उनी त्यहाँको एक निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन्। भन्छन्, ‘एक हजार रियाल तलब हुन्छ भनेकाले तयारी गरिरहेको हुँ।’ भर्खर १२ कक्षा उत्तीर्ण गरेका उनलाई मामा पर्ने आफन्तले भिसा पठाउने आश्वासन दिएका थिए। भन्छन्, ‘भिसा आउने निश्चित भइसकेकाले कागजी कामका लागि यहाँ आएको छु।’

दिनदिनै हजारौँ नेपाली युवा श्रमशक्ति विदेशतिर बगिरहेको छ। कम्पनीमार्फत जानेभन्दा पनि व्यक्तिगत भिसामा जानेको संख्या बढी छ। खाडी मुलुकमा यो संख्या ठूलो छ। त्यहाँ नेपाली कामदार ज्यादा भएकाले व्यक्तिगत भिसामा जानेहरू पनि बढी हुनु स्वाभाविक हो। कतार अहिले धेरै नेपाली कामदार भएको देश हो। त्यहाँ व्यक्तिले पठाएको भिसाका आधारमा कामदार जाने क्रम बढिरहेको छ।

धनगढीका राजेन्द्र उपाध्याय पनि व्यक्तिगत भिसाकै आधारमा कतार जान लागेका हुन्। वैदेशिक रोजगार विभाग परिसरमा भेटिएका उनले शुक्रवारसँग भने, ‘केही कागजी काम बाँकी छ। एक महिनाभित्र उड्ने तयारीमा छु।’ म्यानपावर कम्पनी तथा व्यक्तिगत भिसामा कतारमा कामदारको माग बढ्दो छ।
मोरङ, लेटाङका हरि श्रेष्ठ पनि व्यक्तिगत भिसामा कतार जान लागेका छन्। उनी पनि निर्माण कम्पनीमा काम गर्न जान लागेका हुन्। भन्छन्, ‘आम्दानी औसत भए पनि मौका राम्रो आएकाले जान लागेको छु।’
वैदेशिक रोजगार विभागको गत महिनाको तथ्यांकमा पनि व्यक्तिगत भिसामा कतार जानेको संख्या ठूलो छ। कात्तिकमा मात्र १६ हजार सात सय ७३ जना कतारका लागि उडेका थिए। त्यसमध्ये व्यक्तिगत भिसामा मात्र दुई हजार आठ सय १७ जना पुगेका छन्। विभागका अनुसार व्यक्तिगत भिसामा यत्तिको संख्या विदेश जानु भनेको उच्च संख्या हो। विभागलगायत वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र नेपाल सरकारले पनि संस्थागत भिसालाई बढी महŒव दिने गरेका छन्। विभागले त व्यक्तिगत भिसालाई निषेध गर्ने योजना पनि बनाएको छ। कामको जोखिम र मानिसहरू समस्यामा परेका कारण सरकारी निकायबाट यस्तो तयारी भए पनि श्रमको अवसर खोज्नेहरूले भने व्यक्तिगत भिसालाई त्याग्न सकेका छैनन्। बोर्ड अधिकारी अशोक गौतम भन्छन्, ‘व्यक्तिगत भिसामा जोखिम हुने भएकाले पनि संस्थागत भिसा लिनका लागि हामीले अपिल गरेका हौं। तर, कामदारका लागि आएको भिसालाई श्रम स्वीकृति दिनैपर्ने हुन्छ।’
गत वर्षसम्म कामदारको उच्च माग गर्ने मलेसियालाई यस वर्ष खाडी मुलुक कतारले उछिनेको छ। सन् २०२२ को विश्वकप फुटवल प्रतियोगिता गर्ने अवसर पाएको कतारले निर्माण कार्यका लागि वैदेशिक कामदार ज्यादा लगेका कारण पनि नेपाली श्रमशक्ति त्यहाँ बढी पुगेको हो। खाडी मुलुकमा त्यसै पनि नेपाली कामदारको माग बढ्दो छ। यस वर्ष पनि कतारमा राम्रो संख्यामा नेपाली कामदारको माग भएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागका अनुसार अन्य मुलुकका तुलनामा अहिले कतारमा नेपाली कामदारको माग बढेको हो। निर्माण क्षेत्रमा नै नेपाली श्रमशक्ति जाने क्रम बढेको पनि देखिन्छ।

शुक्रबार साभार

Leave a Reply

Your email address will not be published.