सहमति गरेको एक मिनेटमै राजीनामा दिन्छु : प्रधानमन्त्री

गोरखा- प्रधानमन्त्री बाबुराम भट्टराईले विकल्पबिना प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन्। जिल्लाको ताकुकोट गाविसस्थित सूर्यज्योति उच्चमाध्यमिक विद्यालयको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलहरू राष्ट्रपतिले दिनुभएको समयसीमाभित्र छिटो सहमतिमा पुग्नुपर्ने बताए। 
दलहरूबीच सहमति भएको एकमिनेटभित्रै राजीनामा दिने बताउँदै उनले भने, “सहमति गरेर राष्ट्रपतिसमक्ष छिटो जाउँ।” उनले सो विद्यालयको विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताए।

सो अवसरमा उनले उक्त उच्चमाविले प्रकाशन गरेको सूर्यज्योति स्मारिका २०६९ को विमोचनसमेत गरे। कार्यक्रममा विद्यालयका प्राचार्य हरिराम दवाडीले विद्यालयको आय व्यय र प्रगति विवरण बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। सो विद्यालयमा अधिकांश जनजाति तथा अल्पसङ्ख्यक अवस्थामा रहेका बराम जातिका बालबालिका अध्ययन गर्छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर श्रेष्ठको अध्यक्षतामा पाँच दिनदेखि सञ्चालित स्वर्णमहोत्सव कार्यक्रमको आज समापन गरिएको हो। रासस

Leave a Reply

Your email address will not be published.