एमाओवादी भ्रमबाट मुक्त हुनुपर्छ : कांग्रेस महामन्त्री सिंह

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सहमतीय सरकारको प्रधानमन्त्रीको उम्मेदवार आफ्नै पार्टीका सभापति सुशील कोइराला नै रहेको दोहर्‍याएका छन्। उनले सहमतीय सरकारको साझा उम्मेदवार पार्टी सभापति कोइरालालाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गरे।

नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला समितिले स्वर्गीय मङ्गलादेवी सिंहको स्मृतिमा आज काठमाडौँको शोभा भगवतीमा आयोजित स्मृतिसभामा महामन्त्री सिंहले प्रधानमन्त्री पदसँग कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यता नसाट्ने बताउँदै कांग्रेसले प्रधानमन्त्री पदसँग प्रजातन्त्र र लोकतन्त्रका मूल्य मान्यताहरू नसाट्ने र एमाओवादी त्यो भ्रमबाट मुक्त हुन जरुरी रहेको बताए।
उनले एमाओवादीले प्रधानमन्त्री पद बाँड्ने गरेकोप्रति आपत्ति जनाउँदै गैर राजनीतिक क्रियाकलाप नियन्त्रण गर्न सुझाव दिँदै एमाओवादीलाई सहमतीय सरकारका लागि जिम्मेवार बन्नसमेत आग्रह गरे।
“राष्ट्रपतिले दिएको समयसीमाभित्रै सहमतिको सरकार बनाइसक्नुपर्छ,” महामन्त्री सिंहले भने, “सरकार तोकिएकै समयमा बनाउनुपर्छ, त्यसका लागि काँग्रेस सहमति र सहकार्यका लागि लचकता प्रस्तुत गर्न तयार छ।”
कांग्रेस सहमतिमै निकास आओस् भन्ने चाहन्छ भन्दै उनले एमाओवादी नसुधि्रए सडक आन्दोलनबाट पाठ सिकाउने बताए। कार्यक्रममा काँगे्रसका नेताहरू नवीन्द्रराज जोशी, भीमसेनदास प्रधान, तीर्थराम डङ्गोल, महिला सङ्घ काठमाडौँ जिल्ला सभापति विष्णुदेवी पुडासैनीलगायतले मङ्गलादेवीको योगदानबारे चर्चा गरेका थिए। रासस

Leave a Reply

Your email address will not be published.