बाह्र बुँदेका सहयात्री फेरि एक ठाउँमा आउनुपर्छ : दाहाल

काठमाडौं, मङ्सिर २३- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि १२ बुँदे सम्झौताका सहयात्री दलहरु फेरि एक ठाउँमा आउनुपर्ने बताएका छन्। नेपाल पत्रकार महासङ्घ, काठमाडौं जिल्ला शाखाको वार्षिक साधारण सभाको उद्‍घाटन गर्दै उनले बाह्रबुँदे सहमतिका सहयात्रीहरुको उद्देश्य पूरा भइनसकेकाले दलीय आरोप–प्रत्यारोप छोडेर फेरि मिल्नुको विकल्प नभएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने– “बाह्रबुँदेको मर्ममा त्यसका सहयात्रीहरु विचलित भएको त हैन भन्ने प्रश्न खडा भएको छ, जति दलीय आरोप प्रत्यारोप बढो त्यति नै प्रतिगमनकारीलाई फाइदा पुग्छ त्यसैले अहिले १२ बुँदेका पक्ष र विपक्षबीच ध्रुवीकरण हुन जरुरी छ।”
उनले राजनीतिक सहमतिका लागि दलहरुबीचमा व्यापक छलफल भइरहेकाले राष्ट्रपतिले दिएको पछिल्लो समय सीमाभित्रै राजनीतिक समाधान निस्कने बताए। “पछिल्लो समय सीमाभित्रै केही न केही निकास खोज्नैपर्छ, त्यसका लागि मैले हिजो पनि कांग्रेसका नेताहरुसँग अनौपचारिक कुराकानी गरेको छु, आज बिहान पनि एमाले, कांग्रेसका नेतासँग छलफल गरेको छु यसले छिट्टै निकास निस्कन्छ भन्नेमा म विश्वस्त छु,’ अध्यक्ष दाहालले भने।
उनले राष्ट्रिय राजनीतिको जटिल सङ्क्रमणकालको मार पत्रकारिता जगतमा पनि परेको भन्दै नेपालका सबैखाले आन्दोलनमा पत्रकारिता जगतले खेलेको भूमिकालाई मध्यनजर गर्दै उनीहरुको सुविधाका लागि सरोकारवाला गम्भीर हुनुपर्ने बताए।
कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले मुलुकको सङ्कट समाधानका लागि तत्काल सहमतिको सरकार गठन गरी वैशाखभित्रै निर्वाचनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिए।
उनले प्रेस स्वतन्त्रता र लोकतन्त्र अन्योन्याश्रित भएकाले प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि सरोकारवाला गम्भीर हुनुपर्ने बताए। नेकपा (एमाले) का प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले सङ्क्रमणकालीन मुलुकको निकासका लागि राष्ट्रपतिले दिएको तेस्रो अवसर पनि गुमे प्राप्त उपलब्धि गुम्ने खतरा छ, भन्दै राष्ट्रिय सहमतिको सरकार र निर्वाचनको सुनिश्चितताका लागि एमाओवादीलाई जिम्मेवार बन्न आग्रह गरे।
अहिले सिङ्गो मुलुक र सञ्चार गृह सङ्कटमा हुँदा व्यक्तिगत स्वतन्त्रता खतरामा पर्नुका साथै गैरराज्य पक्षबाट सञ्चार क्षेत्रमा चरम आक्रमण बढेको र त्यो नियन्त्रण गर्न राज्य कमजोर सावित भएको उनले उल्लेख गरे।
मधेसवादी नेता देवेन्द्र यादवले व्यावसायिक पत्रकारिताको सुरक्षाका लागि राष्ट्रिय नीति बन्नुपर्ने धारणा व्यक्त गरे। यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउँलेले लोकतन्त्र र परिवर्तनका लागि लडेका पत्रकारहरु यतिखेर आफ्नै पीडामा रुमलिएको चर्चा गर्दै उनीहरुको भौतिक सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताका लागि सरोकारवाला गम्भीर हुनुपर्ने बताए। रासस

Leave a Reply

Your email address will not be published.