कैलाली फुलबारीका थारुसँग भारतीय वनरक्षकको ज्यादती, ‘ब्लाकमेल’ गरी चार लाख भारु असुलियो

कैलालीको धनगगढी उपमहानगरपालिका–१९ फुलबारी आई गाउँका पाँच नेपालीलाई भारतीय वन रक्षकले नेपाल–भारत दशगजाबाट पक्राउ गरी नेपाली ६ लाख ४० हजार रकम असुलेको खुलासा भएको छ ।

गत शनिवार नेपाल–भारत दशगजा क्षेत्रमा पर्ने मोहनानदीमा बगेको दाउरा निकाल्दै गर्दा फूलबारी आई गाउँका धनिराम चौधरी, महेन्द्र चौधरी, सोभराम चौधरी, खडक चौधरी र रामु चौधरीलाई भारतीय वन रक्षकले पक्राउ गरेको थिए ।

भारतीय वन रक्षकहरुले उनीहरुलाई पक्राउ गरीे उत्तरप्रदेश, खिरी जिल्लाको सोनाह वन विभागमा लगेको र पछि त्यहाँबाट दुधुवा नेशनलपार्कमा बन्दी बनाएको उनीहरुका परिवारले बताए । विभिन्न डर त्रास देखाएर हामीबाट ४ लाख भारु लगेका छन्’ पक्राउ परेका सोभराम चौधरीका बुवा खुसीराम चौधरीले भने– ‘उनीहरुले केटाहरुको मोवाईल पनि जफत गरेका छन् ।’

पक्राउ परेका पाँचै जनालाई बाघको छाला, चितलको छाला र सिङसँगै जिपमा राखेर लखिमपुर चलान गरेको पक्राउ परेका आफन्तले बताए । लखिमपुरमा लगेर जेल चलान गर्ने धम्की दिदै आएका वन रक्षकको धम्कीपछि आफूहरुले ४ लाख भारु तिर्न राजीभएको पक्राउ पर्ने मध्येका एक जना रामु चौधरीले जानकारी दिए ।

पैसा असुल्नेमा दुधुवा नेशनलपार्कका अधिकृत श्रीवास्तव र अर्का एक वन रक्षक कमलपाल रहेको पक्राउ परेका आफन्तले जानकारी दिए । आफूहरुले तिरेको रकमको रसिद दिन आग्रह गर्दा एक हप्तापछि मात्रै दिने भन्दै नेपालफिर्ता पठाएको पक्राउ पर्ने मध्येका रामु चौधरीले बताए ।

भारतीय वन कर्मचारीले नेपालीबाट रकम लगेको भन्ने खबर आएको र सो कुराका लागि उत्तरप्रदेश खिरी जिल्लाका डिएमसँग सम्पर्क गर्ने प्रयास भइरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी गाविन्दप्रसाद रिजालले जानकारी दिए । अधिकारी रिजालले भन,  ‘यो सम्बन्धमा गृह मन्त्रालयमा जानकारी गराईसकेको छु, भारतीय पक्षसँग टेलिफोन सम्पर्क भैसकेको छैन ।’

सिमानामा पर्ने कैलालीको धनगगढी उपमहानगरपालिका १९ फुलबारी आई गाउँका नेपालीलाई भारतीय पक्षले यसरी नै दुःख दिने गरेको उपमहानगरपालिका–१९ का वडा अध्यक्ष तिलुराम चौधरीले बताए । वडा अध्यक्ष चौधरीले भने, ‘नेपाल–भारत सिमामा पर्ने मोहना नदीमा नेपालतिरको भसमिबाट दाउरा निकाल्दै गर्दा उनी पक्राउ गरेका थिए, पछिल्लो अवस्थामा के भैरहेको छ म अनविज्ञ छु ।’

Leave a Reply

Your email address will not be published.