गेस पेपरको उत्पादन र बिक्रीमा रोक

काठमाडौं- गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सरकारले गेस पेपर प्रकाशन र बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ। मङ्गलबार बसेको मन्त्रिस्तरीय निर्णयले गेस पेपर प्रकाशन तथा बिक्री वितरणमा रोक लगाएको हो। गुणस्तरीय शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले गरेको उक्त निर्णय कार्यान्वयनका लागि त्यस्ता सामग्री उत्पादन तथा प्रकाशन गर्ने प्रकाशकलाई प्रकाशन नगर्न, वितरकलाई वितरण नगर्न, बित्रे्कतालाई बिक्री नगर्न, विद्यार्थी तथा अभिभावकलाई खरिद नगर्न पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले अनुरोध गरेको छ।
केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले गेस पेपरको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको भन्दै विद्यालय तथा शिक्षकलाई पनि यस्ता सामग्रीको प्रयोगमा उत्प्रेरित नगर्न नगराउन आग्रह गर्नुभएको छ।
यो निर्णयको पालना भए नभएको अनुगमन गर्न सबै जिल्ला शिक्षा कार्यालयलाई पनि केन्द्रले अनुरोध गरेको छ।
परीक्षा र उत्तरमुखी सोचमा आधारित गेस पेपरजस्ता अनधिकृत सामग्रीले गुणस्तरीय सिकाइमा नकारात्मक प्रभाव पारेको तथा प्रश्न निर्माण र मूल्याङ्कनमा समेत यसको प्रभाव परेको भन्दै यसको उत्पादनमा रोक लगाइएको हो। साथै पुस्तक पढ्ने बानीमा कमी आएको र पुस्तक व्यवसायमा अवस्थ प्रतिस्पर्धा बढेको र विद्यार्थीको सक्षमता र शिक्षाको समग्र गुणस्तरमा ह्रास आएको पनि केन्द्रको बुझाइ छ।
विद्यालय तहमा पाठ्यक्रम विकास केन्द्रले विकासा गरेका पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री र नियमानुसार थप पाठ्यसामग्री र पाठ्यपुस्तकका रुपमा स्वीकृति प्राप्त सामग्रीको मात्र पठनपाठन र उपयोग गर्न पाइने मौजुदा व्यवस्था रहेको केन्द्रले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.