नेपाल भ्रष्टाचार हुने १३९औं स्थानमा

काठमाडौं- विश्वमा भ्रष्टाचार हुने १७४ मुलुकमध्ये नेपाल यो वर्ष १३९औं स्थानमा परेको एक प्रतिवेदनले देखाएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा सन् २०१२ को भ्रष्टाचार अवधारणा सूचकाङ्क प्रतिवेदनमा कूल १०० अङ्कमा २७ अङ्क प्राप्त गरेको जनाइएको छ। परिवर्तित अनुसन्धान विधिअनुसार तयार पारिएको सूचकाङ्कमा १०० अङ्कले न्यून र ० अङ्कले अधिकतम भ्रष्टाचार रहेको जनाउँछ। 
नेपालले बर्टेल्सम्यान फाउन्डेसन, विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोवल जस्टिस प्रोजेक्ट र ग्लावल इनसाइटसमेत गरी पाँचवटा संस्थाद्वारा गरिएको सुशासन र भ्रष्टाचारसम्बन्धी सर्वेक्षणका आधारमा २७ अङ्क पाएको हो।
ती संस्थाद्वारा सरकारको उत्तरदायित्व, सरकारी कर्मचारीहरुको जवाफदेहीता, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, भ्रष्टाचारको मात्रा, भ्रष्टाचारविरोधी कारबाही र उपलब्धि, सरकारी कारबाही र नियन्त्रणकारी क्षमता, प्रशासनिक भ्रष्टाचार, राजनीतिक भ्रष्टाचार, सार्वजनिक पदको दुरुपयोग, सेवामा अनियमितता, अदालतको निर्णयमा प्रभावबारे सर्वेक्षण गरिएको थियो।
प्रतिवेदनअनुसार यसवर्षको सूचीमा डेनमार्क, फिनल्यान्ड, न्युजिल्यान्ड कूल १०० मध्ये ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएका छन् भने अफगानिस्तान, उत्तरकोरिया र सोमालिया आठ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुककारुपमा सूचीकृत भएका छन्।
प्रतिवेदन सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ६४, श्रीलङ्काले ४०, भारतले ३६, नेपालले २७, पाकिस्तानले २७, बङ्गलादेशले २६ र अफगानिस्तानले आठ अङ्क प्राप्त गरेको जानकारी दिइयो।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष हुगेट लावेलाका अनुसार धेरै मुलुक अझ पनि भ्रष्टाचारको मारमा रहेकाले सार्वजनिक निर्णय प्रक्रियालाई सरकारद्वारा भ्रष्टाचारमुक्त बनाउनु आजको आवश्यकता रहेको र भ्रष्टाचारविरुद्ध कडा कदम नचालिएका कारण समाजले यसको मूल्य चुकाउनुपरिरहेको छ।
यस सूचकाङ्कमा नेपालले पाएको अङ्कले राजनीतिक सङ्क्रमणकालको बहानामा वर्षौदेखि राज्य, सरकार, राजनीतिक दल र राजनीतिक नेतृत्व भ्रष्टाचार नियन्त्रण गर्न गम्भीर हुन नसकेको स्पष्ट छ। रासस

Leave a Reply

Your email address will not be published.