प्रधानमन्त्री भट्टराईद्वारा नेता तामाङप्रति श्रद्धाञ्जलि

काठमाडौं- नेपाली कांग्रेसका नेता भीमबहादुर तमाङको पार्थिव शरीरमा प्रधानमन्त्री डा बाबुराम भट्टराईले श्रद्धाञ्जलि दिए। नेता तमाङको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको थियो। नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको उहाँको पार्थिव शरीरमा प्रधानमन्त्रीले फूलमाला चढाई भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन्। 
सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले तामाङको निधनले आदर्श र सिद्धान्तको राजनीति गर्नेहरूका लागि ठूलो धक्का पुगेको बताए। उनले भने, ‘यस्ता आदर्शवान, सिद्धान्तप्रति निष्ठावान व्यक्तिहरू समाजमा कमै देखा पर्छन्।’

नेता तामाङको निधनले नेकाँमात्र होइन, समग्र मूल्य मान्यताको राजनीति गर्नेहरूका लागि धक्का पुगेको प्रधानमन्त्री भट्टराईले बताए। नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले श्रद्धाञ्जलि दिँदै राजनीतिकर्मीहरूका लागि स्वर्गीय तामाङले अवलम्बन गर्नुभएको आदर्श, सिद्धान्त र निष्ठाको राजनीति महत्वपूर्ण रहेको प्रतिक्रिया दिए।
कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले श्रद्धाञ्जलि दिँदै तामाङको निधनले प्रजातान्त्रिक समाजवादी आन्दोलनमा ठूलो धक्का पुगेको बताए।
अहिले स्वर्गीय तामाङप्रति श्रद्धाञ्जलि दिन विभिन्न दल र तिनका नेता तथा कार्यकर्ताहरू पार्टी कार्यालयमा आउने क्रम जारी छ। रासस

Leave a Reply

Your email address will not be published.