कञ्चनपुरका उन्नाइसवटै गाविस कम्प्युटर प्रणालीमा

कञ्चनपुर- कञ्चनपुर जिल्लाका १९ वटै गाविस कम्प्युटरकृत गरिएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा मानव विकास तथा सामाजिक सुरक्षा नमुना परियोजनाअन्तर्गत सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत यहाँका १९ वटै गाविसलाई कम्प्युटर प्रणालीमा लगिएको हो। 
गाविस कार्यालयलाई झन्डै रु १६ लाख मूल्यका कम्प्युटर र प्रिन्टरलगायतका सामान निःशुल्क उपलब्ध गराइएको उक्त परियोजनाका सामाजिक सुरक्षा सहायक विसनदेव जोशीले बताए।
यसैगरी, गाविसको क्षमता अभिवृद्धि गर्नका लागि झन्डै रु १६ लाखका कुर्सी, टेबल र सौर्य प्रणाली प्रदान गरिएको उनले बताए। उन्नाइसवटै गाविसलाई २४ वटा कम्प्युटर र सौर्य प्रणाली प्रदान गरिएको छ। गाविस कार्यालयमा कम्प्युटर जडान भएपछि जन्म, मृत्यु, विवाह दर्ता, नाता प्रमाणित, ज्येष्ठ नागरिक सुरक्षा भत्ता वितरणको कार्य गर्न, मालपोत बुझाउन र विकास निर्माणका योजना बनाउन सहज हुने सामाजिक सुरक्षा सहायक जोशीले बताए।
विद्युत् आपूर्ति नभएको बेला सेवाग्राहीलाई सहजरूपमा सेवा उपलब्ध गराउन सौर्य प्रणालीसमेत जडान गरिएको उनले बताए।
जिल्लामा भएका कार्यक्रम र जिल्ला विकास समितिका चिठ्ठीपत्र सहजै पाउनका लागि गाविस कार्यालयले इमेल, इन्टरनेट सञ्चालन गर्ने व्यवस्थासमेत गरिन लागेको उनले बताए। देशमै पहिलोपटक सबै गाविसमा कम्प्युटरकृत भएको जिल्ला कञ्चनपुर हुन पुगेको छ। रासस

Leave a Reply

Your email address will not be published.