चार दलले गरेको सहमति मान्य हुन्न : नेकपा-माओवादी

काठमाडौं- नेकपा–माओवादीले प्रमुख चार दलका नाममा भइरहेको वार्ता र छलफलप्रति आपत्ति जनाउँदै आफ्नो दल तेस्रो ठूलो दल भएको दाबी राष्ट्रपति डा रामवरण यादवसमक्ष प्रस्तुत गरेको छ। माओवादी उपाध्यक्ष सिपी गजुरेल र प्रवक्ता पम्फा भुसालले आज राष्ट्रपति निवास शीतल निवास पुगेर आफ्नो पार्टीमा रहेका विघटित संविधान सभाका ९१ सभासद्को नाम राष्ट्रपति यादवलाई बुझाए। 
भेटपछि उपाध्यक्ष गजुरेलले भने– विघटित संविधान सभामा रहेका हाम्रा ९१ सभासद्को नामको सूचि हामीले राष्ट्रपतिलाई बुझायौँ। कपा (एमाले) बाट उपाध्यक्ष अशोक राईलगायतका जनजाति सभासद्हरु अलग्गिएर नयाँ पार्टी खोलेपछि पूर्व सभासद् सङ्ख्याका हैसियतले हाम्रो पार्टी तेस्रो ठूलो दल भएको स्मरण हामीले राष्ट्रपतिलाई गरायौँ।”
भेटमा माओवादी पार्टी औपचारिकरुपमा निर्वाचन आयोगमा दर्ता नभएकाले केही समस्या परेको राष्ट्रपति यादवले बताउनुभएपछि जवाफमा उपाध्यक्ष गजुरेलले पार्टी दर्ता नगराए पनि एकीकृत नेकपा (माओवादी)बाट अलग्गिएर नयाँ पार्टी गठन गरेको जानकारी निर्वाचन आयोगलाई आफूहरुले गराइसकेको बताएका थिए।
हिजो प्रमुख दलहरुको आग्रहमा भन्दै राष्ट्रपतिले थप सातदिनको म्याद थप्ने प्रक्रियामा आफ्नो दललाई सहभागी नगराएकामा पनि आफूहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराएको उनले बताए।
देशको वर्तमान राजनीतिक गत्यावरोध अन्त्यका लागि गोलमेचसभा वा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको र त्यसका लागि सहयोग गरीदिन राष्ट्रपति यादवसँग आग्रह गरेको गजुरलले बताए।
बिहान भएको भेटवार्ता दुई घन्टासम्म चलेको थियो। रासस

Leave a Reply

Your email address will not be published.