सुन केही सस्तो

काठमाडौं- स्थानीय बजारमा तीनदिनदेखि स्थिर रहेको छापावाल सुनको मूल्य आज प्रतितोला रु ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। सङ्घका अनुसार छापावाल सुनको मूल्य हिजो ६१ हजार ५०० कायम रहेकामा आज प्रतितोला रु ६० हजार ८०० कायम भई प्रतितोला रु ७०० ले घटेको हो।

आइतबार, सोमबार र मङ्गलबार छापावाल सुनको मूल्य रु ६१ हजार ८५० कायम रहेकामा हिजो प्रतितोला रु ६१ हजार ५०० कायम भई रु ३५० प्रतितोला मूल्य घटेको सङ्घका अध्यक्ष तेजरत्न शाकयले बताए।
उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य प्रतिऔंश रु २० डलरले घटेकाले त्यसको प्रभाव परी स्थानीय बजारमा सुनको मूल्य घटेको हो। यसैगरी तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु ७०० ले घटेर रु ६० हजार ५५० कायम रहेको छ। हिजो छापावाल सुनको मूल्य रु ६१ हजार २५० कायम रहेको बताइएको छ।

यस्तै चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला रु १० ले घटेर रु एक हजार २१० कायम रहेको छ भने हिजो चाँदीको मूल्य प्रतितोला रु एक हजार २२० कायम रहेको पनि सङ्घले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.