एमाओवादीको बन्दसत्र सुरु हुँदै

हेटौंडा- हेटौंडामा शनिबारदेखि सुरु भएको एकीकृत नेकपा (माओवादी) को सातौँ महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ। मध्याह्न १२ बजेदेखि सुरु बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजसँगै, विभिन्न साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ। त्यस्तै, दस्तावेजमा छलफल गर्नका लागि सहभागीलाई विभिन्न समूहमा विभाजन गरिने एमाओवादीले जनाएको छ।

दस्तावेजमा भोलिदेखि सहभागीले धारणा राख्ने र त्यसका लागि विभिन्न समूह निर्माण गरेर छलफल गरिने बताइएको छ। महाधिवेशनमा अध्यक्ष दाहालको दस्तावेज मात्रै प्रस्तुत हुने देखिए पनि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि राष्ट्रियताका विषयमा फरक मत राख्ने तयारी गरेका छन्। बन्दसत्रमा अध्यक्षको दस्तावेजमा छलफलपछि आवश्यक परिमार्जनसहित पारित हुनेछ।

पार्टीको नयाँ रणनीति, कार्यनीति र वर्तमान राजनीतिको विश्लेषणसहितको दस्तावेज पारितसँगै नयाँ नेतृत्व चयन गर्दै यही माघ २५ गते माओवादीको महाधिवेशन सकिनेछ। एकीकृत माओवादीमा मोहन वैद्य समूह पार्टीबाट बाहिरिएपछि दाहाल एकजना मात्रै अध्यक्षका लागि अगाडि देखिएका छन्। यसअघि शनिबार भएको उद्‍घाटन कार्यक्रममा अध्यक्ष प्रचण्डले युद्धनीति पूरै त्यागेर उत्पादनमा लाग्ने बताएका थिए। त्यस्तै दाहालले महाधिवेशनबाट सहमतिका लागि नयाँ सुत्र ल्याउने उद्‍घोषसमेत गरेका थिए।

बन्दसत्रमा करिब तीन हजार ५०० को हाराहारीमा प्रतिनिधि तथा पर्यवक्षकको सहभागिता रहेको छ। बन्दसत्रलाई व्यवस्थित बनाउनको लागि आवश्यक कार्यविधिसमेत तय गरिने एमाओवादी केन्द्रीय कार्यालयले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.