सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै

सिरहा- सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका महिलाले यसलाई पेसाका रुपमा अपनाएको देखिएको छ। इन्द्रे नी सेवा समाज गोलबजारले गरेको अध्ययनअनुसार सिरहामा २०८ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन्। समाजले आज लहानमा पत्रकार सम्मेलन गरी यौनकर्मी महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो।

सिरहाको लहान, गोलबजार, मिर्चैया, ठाडी, माडर, सिरहा सदरमुकामलगायतका बजारमा अत्यधिक सङ्ख्यामा यौनकर्मी महिला रहेको ईन्द्रेणी सेवा समाज गोलबजारद्वारा सञ्चालित एचआइभी एड्स रोकथाम कार्यक्रमका संयोजक निरञ्जन शाक्य कुशवाहाले जानकारी दिए। उनका अनुसार फेला परेको २०८ यौनकर्मी महिलामध्ये तीनजना एचआइभी एड्सबाट सङ्क्रमित छन्।

यौनकार्यमा संलग्न महिलामा अधिक २५ देखि ३५ वर्ष उमेर समूहका छन्। अधिकांश यौनकर्मी महिलाले चेतनाको अभावमा एचआइभी एड्सबाट बच्न कण्डमको प्रयोग नगर्ने गरेको अध्ययनले देखाएको छ।
यस्तै सिरहामा महिला र पुरुष गरी कुल १२० जना अनुमानित एड्स सङ्क्रमित फेला परेका छन्। यसमध्ये नौ महिला र नौ पुरुषमा एड्स पोजेटिभ देखिएको छ। अन्य अनुमानित एड्स सङ्क्रमितहरु जाँच प्रक्रियामा रहेको एचआइभी एड्स रोकथाम कार्यक्रमका संयोजक कुशवाहाले बताए। यस्तै, ब्लु डायमण्ड सोसाइटी लहानका अनुसार सिरहामा ६ जना तेस्रोलिङ्गी पनि एचआइभी एड्सबाट सङ्क्रमित छन्। रासस

Leave a Reply

Your email address will not be published.