सचिवालयद्वारा पूर्वलडाकु गाउँको अनुगमन

रत्ननगर- सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयको टोलीद्वारा पूर्वलडाकुहरु बसेको चितवनको पदमपुरस्थित २०० बिघा क्षेत्रमा आज अनुगमन गरेको छ। पूर्वलडाकुहरु अहिले कसरी बसेका छन्, विगतमा अवकाशवापत् दिएको रकम केमा प्रयोग गरेका छन् र अब भावी योजना के छ भन्ने बारेमा उनीहरुको घरमै पुगेर जानकारी लिएको सचिवालयले जनाएको छ।

सचिवालयका शाखा अधिकृत चिरञ्जीवी भण्डारी, विश्व अधिकारीलगायत टोली आज बिहान पदमपुरमा रहेको उनीहरुको गाउँमा पुगेर जानकारी लिएका थिए। यहाँको पदमपुर क्षेत्रमा मात्रै झन्डै ९० पूर्वमाओवादी लडाकु बस्दै आएका छन्। शक्तिखोरस्थित तेस्रो डिभिजनबाट अवकाश रोजेका उनीहरु ऐलानी जग्गामा जग्गा खरिद गरेर बसेको पाइएको शाखा अधिकृत भण्डारीले बताए।
उनीहरुमध्ये कतिपयले अहिले पक्की घर बनाएर बसेको, केहीले घर बनाउँदै गरेको र केहीले घडेरी जोडेको भण्डारीले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म पाएको रकम उनीहरुले जग्गा जमिन तथा व्यापारमा हालेका छन्। केही गाउँमै पसल चलाएर बसेका छन्।

जग्गा खरिद गरेर बसेका पूर्वलडाकु रामचन्द्र मैनालीले भविष्यका लागि जग्गा खरिद गरेर आम्दानीको जोहो गर्न थालेको बताए। उनले गाउँमै किराना पसलसमेत सञ्चालन गरेका छन्।

उनीहरुले शान्ति प्रक्रिया बेलैमा टुङ्गिएर राजनीतिक सहमतिमा देश विकासमा लाग्नसमेत नेताहरुलाई आग्रह गरेका छन्। रासस

Leave a Reply

Your email address will not be published.