गोविन्द मैनाली निर्दोष ठहर

काठमाडौं- एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णतः निर्दोष ठहर भएका छन्। बुधबार बिहान जापानको टोकियो उच्च अदालतले सुनाएको अन्तिम फैसलामा उनी निर्दोष रहेको ठहर गरिएको छ। अब उहाँको क्षतिपूर्तिको प्रक्रिया सुरु हुनेछ। अदालतले उनीविरुद्ध कुनै अदालती कारबाही गर्नु नपर्नेसमेत जनाएको छ।

मैनाली सहयोग समितिका सदस्य एवम् एनआरएन जापानका पूर्वअध्यक्ष राजन प्रधानाङ्गले भने, ‘फैसलामा उहाँ पूर्णतः निर्दोष भनिए पनि माफी भने मागिएको छैन।” यसबारे आजै दिउँसो टोकियोमा पत्रकार सम्मेलन गरिने प्रधानाङ्गले बताए।’

फैसलापछि शङ्खमूलस्थित आफ्नै निवासमा रहनुभएका मैनालीले आफ्नो जित भएकामा खुसी व्यक्त गर्दै यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। डीएनए परीक्षणका सबै नतिजामा गोविन्दको संलग्नता नदेखिपछि अघिल्लो साता सरकारी वकिलले टोकियो उच्च अदालतसमक्ष मैनाली निर्दोष रहेको प्रतिवेदन बुझाएको थियो। मुद्दा पुनरावलोकन हुने भएपछि चार महिनाअघि मैनालीलाई जेलमुक्त गरी नेपाल पठाइएको थियो।

मृतक युवतीको शरीरबाट सङ्कलन गरिएका र सम्बद्ध ४० भन्दा बढी वस्तुको डिएनए गोविन्दसँग नमिलेपछि अदालती निर्णयबाट उहाँलाई केही महिनाअघि रिहा गरिएको थियो। फैसला आफ्नो पक्षमा भएपछि अब मैनालीले क्षतिपूर्तिको प्रक्रिया अघि बढाउने भएकन छन्।
सन् १९९७ मार्च १९ मा मृत भेटिएकी यौनकर्मी यासुको वातानावेको हत्या अभियोगमा मैनाली जेल परेका थिए। सन् १९९७ को मार्च २२ मा पक्राउ पर्नुभएका गोविन्दलाई तत्कालै वातानावे हत्याको अभियोग लगाइएको थियो। टोकियो उच्च न्यायालयले उनलाई आजीवन कारावासको सजाय तोकेको थियो।

बिहानैदेखि मैनालीको प्रतिक्रिया लिन स्वदेशी तथा विदेशी सञ्चारकर्मीहरु उनको घरमा पुगेका थिए। मैनालीकी पत्नी राधाले पनि सत्यको विजय भएको प्रतिक्रिया दिइन्। हालः मैनालीले आफ्नो १५ वर्षे जेल जीवनबारे पुस्तक लेख्दै छन्। रासस

Leave a Reply

Your email address will not be published.