वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछ

काठमाडौं- सत्तारूढ दलका दुई नेताले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने दावी गरेका छन्। बजेटमा सहमति गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) ले इन्कार गरेकाले अन्य बाँकी रहेका दलहरुको सहमतिमा वर्तमान सरकारले यसै महिनाको अन्तसम्ममा पूर्ण बजेट ल्याउने र देशमा आर्थिक सङ्कट हुन नदिन राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्नुपर्नेमा जोड दिएका हुन्।

मधेसी मोर्चामा आबद्ध नेपाल सद्भावना पार्टीका लक्ष्मणलाल कर्णले राष्ट्रिय सहमतिका लागि वर्तमान सरकारले प्रयास गर्दै आएको र यसै कारण विगतमा आंशिक बजेट ल्याएको उल्लेख गर्दै अब राष्ट्रमा आर्थिक सङ्कट हुन नदिन यसै महिना आउने पूर्ण बजेटलाई देशको परिस्थिति बुझेर राष्ट्रपतिले अनुमोदन गर्नुपर्ने बताए।
विगतका समयमा राष्ट्रपतिलाई सक्रिय बनाउन नहुनेमा जोड दिने विपक्षी दल अहिले राष्ट्रिपतिलाई नै सक्रिय गराउन लागेको आरोप लगाउँदै उहाँले राष्ट्रपतिले पनि शीतल निवासमा राष्ट्रिय सहमति गर्न भन्दै दलका विभिन्न नेताहरूलाई बोलाएर भोज खुवाउने मात्र होइन मध्यस्तता पनि गर्नुपर्छ भने।
प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले राष्ट्रिय सहमतिबमोजिम नै प्रधानमन्त्रीले देशमा सुशासन कायम गर्न र बजेट जारी गर्न खोजेको अवस्थामा पनि विपक्षी दलले बजेट जारी गर्ने, चुनाव गराउने र संविधान जारी गर्ने विषयमा बेवास्ता गरेर प्रधानमन्त्रीको मात्र राजीनामा मागेको आरोप लगाए।
उनले सकेसम्म राष्ट्रिय सहमतिका आधारमा नभए सहमति हुनसकने जति दलको सहमतिको आधारमा यसै महिनाभित्र ल्याइने बजेटलाई राष्ट्रपतिले अनुमोदन गर्नै पर्ने अन्यथा एकै डुङ्गामा सबार हामी सबै डुब्छौं भने।
सल्लाहकार पौडेलले अब ल्याइने पूर्ण बजेटमा केही नयाँ कार्यक्रम पनि थप हुने उल्लेख गरे। नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुङ्गानाले जनअपेक्षाबमोजिम डा बाबुराम भटृराईको सरकारले संविधान जारी गर्न नदिई संविधानसभा विघटन गरेको र मङ्सिर ७ गते पनि निर्वाचन गराउन नसकी असफल बनेकाले सर्वसत्तावादी सोच त्यागी यस सरकारले तुरुन्त राजीनामा दिनुपर्छ भने। रासस

Leave a Reply

Your email address will not be published.