राष्ट्रपतिद्वारा दलहरुलाई नयाँ चुनावमा जान आग्रह

लमजुङ- राष्ट्रपति रामवरण यादवले दलहरुलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन्। लमजुङको दराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्तीको समापन गर्र्दै राष्ट्रपति यादवले प्रमुख दलहरुलाई सहमति गरी नयाँ चुनावमा जान आग्रह गरेका हुन्। देशमा पटकपटक भएका राजनीतिक परिवर्तन संस्थागत हुन नसकेकाले देशको प्रगति हुन नसकेको स्पष्ट पार्दै उनले प्रमुख राजनीतिक दलका नेतृत्वको त्रुटिले गणतन्त्रसमेत संस्थागत हुन नसकेको गुनासो गरे। 
विसं ०६२/६३ को आन्दोलनको बल नै दलहरुबीचको सहमति भएको स्मरण गराउँदै राष्ट्रपति यादवले फेरि पनि दलहरु मिल्न नसके देशले अरु धेरै दुर्भाग्य ब्यहोर्नुपर्ने भएकाले मिलेर सविधान निर्माणमा जुट्न आग्रह गरे।
आफूले कुनै कदम चाल्न नखोजेको स्पष्ट पार्दै राष्ट्रपतिले आफूले दलहरुको सहमति पर्खेर बसेको बताए। संविधान सभाबाट देशको मूल कानुन निर्माणमा दलहरु चुके पनि अब पुनःनिर्वाचन गरी संविधान निर्माणमा लाग्नेछन् भन्नेमा आफू विश्वस्त रहेको उनले बताए।
अबको निकास भनेको नयाँ निर्वाचन नै भएकाले त्यसतर्फ लाग्न राष्ट्रप्रमुखको नाताले आफूले दलहरुलाई पटक–पटक घच्घच्याएको स्मरण गराए। विसं२००६ मा बाहुनहरुले पहिलोपटक हलो जोतेर सामाजिक क्रान्ति गर्नुका साथै पश्चिमाञ्चलमै पहिलोपटक विद्यालय खोलेर शैक्षिक क्रान्तिसमेत गरेकाले यसक्षेत्रको सिको अन्य स्थानले गर्नुपर्ने राष्ट्रपति यादवले बताए।
दुराडाँडा क्षेत्रको शैक्षिक विकासमा योगदान पुर्‍याएको भन्दै सो अवसरमा राष्ट्रपतिले विद्यालयका संस्थापक श्रीकान्त अधिकारी, विद्यालयका उपज तथा शिक्षा सचिव सुरेशमान श्रेष्ठ, दुराडाँडा सेवा समाजका संयोजक कृष्ण राना, पूर्व सांसद हरिभक्त अधिकारी, च्वाइस नेपालका राष्ट्रिय निर्देशक विष्णुहरि अधिकारीलगायत विभिन्न ८४ जनालाई सम्मान गरे।
हीरक जयन्ती मूल समारोह समितिका अध्यक्ष भानुभक्त न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा विद्यालयका संस्थापक श्रीकान्त अधिकारी, विद्यालयका उपज तथा शिक्षा सचिव सुरेशमान श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो। राष्ट्रपति यादवले नवनिर्मित विद्यालय भवनको उद्‍घाटनका साथै यसको गतिविधिको बारेमा जानकारी लिनुका साथै चन्द्रेश्वर उपस्वास्थ्य चौकीको पनि निरीक्षण गरे।
विसं २००९ मा पश्चिमाञ्चलमै अङ्ग्रेजी पढाइ हुने पहिलो विद्यालयका रूपमा दुराडा“डामा स्थापित सर्वोदय उच्च माविको भवन पुनःनिर्माणका लागि विद्यालयका उपजहरुले करिब रु २ करोड खर्चिएका थिए। भवन बनाउन देश विदेशका विभिन्न ठाउँमा रहेका दुराडाँडाबासीले रु एक हजारदेखि रु २० लाखसम्म दान गरेका थिए। कूल रु ३ करोड ५० लाखको लागतमा भवन बनेको हो। रासस

Leave a Reply

Your email address will not be published.