राजधानीमा कांग्रेसको बृहत् आमसभा

काठमाडौं- वैशाखमा निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले राजधानीमा बृहत् आमसभा गर्ने भएको छ। सर्वोच्च नेता गणेशमान सिंहको ९७औं जन्मजयन्तिको अवसर पारेर कात्तिक २४ गते राजधानीको बसन्तपुरमा आमसभा गर्न लागेको काँग्रेसले जनाएको छ। सभाको व्यवस्थापनको जिम्मा पाएको नेपाली काँग्रेस काठमाडौंले जनसभाको तयारीलाई तीव्रता दिएको आज आयोजित तयारी बैठकमा जानकारी दिइयो। 
उपत्यकाका सबै निर्वाचन क्षेत्र, नगर, गाउँदेखि वडासम्म केन्द्रीय सदस्य एवं जिल्ला नेताहरू पूर्वतयारीका लागि खटिएका छन्। त्यसबाहेक काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका जिल्लाहरूमा आमसभाको तयारीका लागि प्रचारप्रसारलाई तीव्रता दिएको काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले जानकारी दिए। उनले सहमतिका लागि माओवादी तयार नभएकाले जनदबाब सिर्जना गर्न र उपत्यका क्षेत्रमा सङ्गठन विस्तार गर्न पनि यो अवसर उपयुक्त भएको बताए।

सो अवसरमा नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले काठमाडौँ बसन्तपुरमा आयोजना हुने सभालाई भव्य र सङ्गठन विस्तारको अवसरमा लिएर काम गर्न निर्देशन दिए। उनले वैशाखमा हुने निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएकाले आमसभाले त्यसका लागि दबाब दिने बताए।

महामन्त्री सिटौलाले मङ्सिरको पहिलो हप्तासम्म नयाँ राष्ट्रिय सहमतिको सरकार बन्न नसके वैशाखमा हुने निर्वाचन पनि टर्न सक्छ भन्दै आमसभालाई आउँदो निर्वाचन, संविधान लेखन र राष्ट्रिय सहमतिको सरकार निर्माणको सन्देश दिन केन्द्रित हुने बताए।
जनताका निर्वाचित प्रतिनिधिहरू रहेको संविधानसभाबाटै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउन दलहरूको सहमतिमा वैशाखमा निर्वाचन गर्न, वर्तमान सरकारले संवैधानिक, नैतिक र राजनीतिक दृष्टिकोणले वैधानिकता गुमाइसेककाले काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न र नयाँ राष्ट्रिय सहमतिको सरकाले नै बाँकी बजेट ल्याउन दबाब दिन आमसभा गर्न लागिएको काँग्रेसले जनाएको छ।

गणेशमान सिंहको ९७औं जन्मजयन्तिका अवसरमा शान्तिबाटिका रत्नपार्कमा भेला भई गणेशमान सिंहको सालिकमा माल्यार्पण गरी जुलुस बसन्तपुरमा पुगेर आमसभामा परिणत हुने बताइएको छ। सभालाई सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललगायतका नेताहरूले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published.