सत्र दिनपछि अपहरणकारीको कब्जाबाट भाग्न सफल

सिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश महतो र उहाँको बहिनी ज्वाइँ सप्तरीको राजविराज घर भएका सुशील महतो कात्तिक २ गते राति अज्ञात समूहको अपहरणमा परेका थिए। उनीहरू अपहरणकारीको कब्जाबाट भागेर भारतको बिहारमा पर्ने खुटौनास्थित प्रहरी चौकीमा पुगेका थिए।

भारतीय प्रहरीले आज बिहान नेपाल प्रहरीलाई जानकारी गराएपछि त्यहाँबाट वडा प्रहरी कार्यालय लहानमा ल्याएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक राजकुमार शाहीले बताए।
अपहरणकारीहरूले छोरा दिनेश र ज्वाइँ सुशीललाई सुई लगाएर भारतको अज्ञात स्थलमा राख्दै आएको अपहरित दिनेश महतोका बुबा रामदेवले बताए। उनले छोरालाई अपहरणकारीले निर्घात कुटपिट गरेको बताए।
अपहृत दिनेश लहानस्थित जेएस बहुमुखी क्याम्पसको बिएड दोस्रो वर्षमा अध्ययनरत् छन्। उनी दसैँ मनाउन घर गएकै दिन आफ्नै बहिनी ज्वाइँ सुशीलसँगै अज्ञात समूहको अपहरणमा परेका थिए। रासस

Leave a Reply

Your email address will not be published.