लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- अनमिनको मापदण्डमा नपरेका तीन हजार अयोग्य लडाकुलाई जनही रु दुईलाख दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। यही कात्तिक २६ गतेसम्म सरकारको सो निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल इजलासले सोही दिन अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्नेबारे छलफल प्रारम्भ गर्न पनि भनेको छ।

मन्त्रिपरिषद्‍बाट अन्तरिम संविधान र कानुनविपरीत हुने गरी अख्तियारीभन्दा बाहिर गएर सरकारी कोषबाट व्ययभार हुने गरी सेवामा नरहेका व्यक्तिलाई कुनै पनि सुविधा, चन्दा, उपहार वा आर्थिक सहयोग दिन नमिल्ने व्यवस्थाका आधारमा अन्तरिम आदेश जारी गर्न माग गर्दै नेपाल डिमोक्रेटिक लयर्स एसोसिएसनका अधिवक्तात्रय विश्वास आचार्य, विमला बर्तौला र राधा सिग्देलले गत बिहीबार सो रिट दायर गरेका थिए।
प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र शान्ति तथा पुनःनिर्माण मन्त्रालयलाई विपक्षी बनाई दायर गरिएको सो रिटमा सरकारको सो निर्णयले राज्यकोषबाट रु ६० करोड खर्च हुने पनि उल्लेख गरिएको छ। रासस

Leave a Reply

Your email address will not be published.