राष्ट्रपतिले धेरै चासो राख्नु नपर्ने माओवादी प्रवक्ताको भनाई

काठमाडौं- संवैधानिक राष्ट्रपतिले राजनीतिक विषयमा धेरै चासो राख्न नपर्ने धारणा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित नियमित प्रवक्ता– सञ्चारकर्मी भेटका क्रममा उनले ‘राष्ट्रपतिले दलहरुबीच सहमति भएपनि विघटित संविधान सभा पुनःस्थापना गर्दिन भनेर दिएको अभिव्यक्ति गैरकानुनी भएको बताए। 
तत्कालीन राजा ज्ञानेन्द्रले आफू दाजु वीरेन्द्रले जस्तो टुलुटुलु हेरेर बस्न नसक्ने अभिव्यक्ति दिएजस्तै राष्ट्रपतिले पनि आफू खोपीको राजा नबन्ने भन्दै संविधानलाई लत्याउन खोज्ने काम गर्नु नहुने प्रवक्ताले बताए। चुनावको मिति तोक् भनेर भन्ने अधिकारसमेत राष्ट्रपतिसँग नभएको प्रवक्ता सापकोटाको जिकिर थियो।

नेपाली कांग्रेस र नेकपा(एमाले) राष्ट्रपतिलाई अवैधानिक रुपमा उचाल्न लागिपरेको र त्यो उचालाईले केही पनि गर्न नसक्ने उनको दाबी थियो। संविधान सभाबाट निर्वाचित भएको संवैधानिक सरकारलाई संसारको कुनै पनि तागतले हटाउन नसक्ने र हटाउने षड्यन्त्र गरिए त्यस्तो शक्तिलाई नेपाली जनताले प्रतिकार गर्नेसमेत उनको भनाइ थियो।
नेपाली कांग्रेस र एमालले सरकार र प्रधानमन्त्रीको कुर्सी भन्दा अरु केही नदेखेको कारण सङ्कट गहिरिएको बताउँदै एमाओवादी प्रवक्ता सापकोटाले वर्तमान अवस्थामा कुनै पनि हालतमा सरकार नछाड्ने स्पष्ट गरे।
विघटित संविधान सभाले गरेको ९० प्रतिशत भन्दा बढी कामलाई संस्थागत गरेर अगाडि जान चाहे र देशलाई निकास दिन चाहे नेपाली कांग्रेसको नेतृत्व स्वीकार गर्न सकिने अन्यथा कुनै पनि अवस्थामा सरकारको नेतृत्व परिवर्तन नहुने उनको अडान थियो।

कांग्रेस र एमालेसँग कुनै पनि विषय (एजेन्डा) नभएको बताउँदै प्रवक्ता सापकोटाले एजेन्डाविहिन शक्तिका कारण समस्या पैदा भएको धारणा राखे। दलहरुकाबीच पटकपटक भएको वार्तामा कुनै पनि उल्लेख्य प्रगति हुन नसकेको जानकारी दिँदै उहाँले एमाओवादी अझै पनि सहमतिकै पक्षमा रहेको बताए।
सहमतिमै बजेट ल्याउने पक्षमा एमाओवादी र सरकार रहेपनि विपक्षी दलले त्यसलाई राजनीति गर्ने माध्यम बनाए सरकारले राष्ट्रिय आवश्यकतालाई ध्यान दिएर जुनसुकै हालतमा पनि बजेट ल्याउने दृढता सापकोटाले व्यक्त गरे।
सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले केही दिनमै जनपरिचालनको कार्यक्रम घोषणा गर्ने जानकारी पनि पार्टी प्रवक्ताले दिए। रासस

Leave a Reply

Your email address will not be published.