न्यायाधीश नियुक्ति वैशाखपछि

काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा नयाँ वर्षसँगै नयाँ न्यायाधीशको नियुक्ति गर्ने भएको छ। परिषद्को आज बसेको बैठकले मुद्दाको बढ्दो चाप र न्यायाधीशको सङ्ख्या घट्दै गएपछि न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको हो। प्रधानन्यायाधीशसहित १५ जना स्थायी र १० जनासम्म अस्थायी न्यायाधीश थप नियुक्त गर्न सकिने संवैधानिक व्यवस्था छ। विगतमा स्थायी र अस्थायी गरी २३ जना न्यायाधीश रहेको सर्वोच्च अदालतमा हाल कामु प्रधानन्यायाधीशसहित पाँचजना मात्र न्यायाधीश रहेका छन्।

सर्वोच्च प्रशासनका अनुसार हाल मुद्दाको चाप बढेर १४ हजारको हाराहारीमा पुगेको छ। न्याय परिषद्को निरन्तरको बैठकपछि आज बसेको बैठकले कार्यसम्पादन गर्न नभ्याएपछि पुनः आइतबार अर्को बैठक डाकेको परिषद्का प्रवक्ता कृष्ण गिरीले जानकारी दिए।

सर्वोच्चमा नियुक्त हुने न्यायाधीशविरुद्ध परेको उजुरी हेर्ने काम सकिएको र उनीहरुको सबै विवरण उतार्ने काम भइरहेको र नेपाल बार एसोसिएसन पनि शीघ्र न्यायाधीश नियुक्तिका लागि सकारात्मक देखिएकाले आउँदो सातासम्ममा सम्भावित व्यक्तिलाई सिफारिस गर्ने काम सम्पन्न हुने परिषद्का सदस्य खेमनारायण ढुङ्गानाले जानकारी दिए।

यसैगरी पुनरावेदन अदालत र जिल्ला अदालतमा पनि रिक्त न्यायाधीश पदपूर्तिका लागि काम भइरहेको र जिल्ला अदालतका थप ४५ जना न्यायाधीश नियुक्तिका लागि थप बजेटका लागि अर्थ मन्त्रालयमा लेखी पठाउने निर्णय भएको प्रवक्ता गिरीले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.