लासको पनि भिसा

फाइल तस्बिर

वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका रोल्पाका भीमबहादुर खत्रीको शव नेपाल ल्याउन पाँच महिना लाग्यो। ०६८ चैत महिनामा मृत्यु भएका खत्रीको शव ०६९ साउनमा मात्र नेपाल आइपुग्यो। पाँच महिनासम्म उनका आफन्तले अन्तिम संस्कारका लागि कुर्न पर्‍यो। त्यस्तै गत जेठ २ गते साउदी अरबमा मृत्यु भएका भद्रबहादुर तामाङको शव झिकाउन दुई महिना दुई दिन लागेको थियो। ‘मृत्यु भएको ६२ दिनमा मात्र उनको शव नेपाल आइपुग्यो। हामीले मृत्यु हुनासाथ प्रक्रिया थालेका थियौं,’ मृतकका आफन्त लक्ष्मी मोक्तानले जनाइन्। त्यस्तै जेठमै मृत्युवरण गरेका कालीकोटका धर्मराज शाहीको शव नेपाल ल्याउनका लागि पनि ६५ दिन लागेको थियो। उनका आफन्तले पनि अन्तिम संस्कारका लागि त्यति दिन पर्खिनु परेको थियो।
साउदी अरबमा मृत्युु भएका नेपाली श्रमशक्तिको शव नेपाल ल्याउन कम्तिमा ३५ दिन लाग्ने गरेको छ। सरकारी प्रक्रियासहित चालिस दिनभन्दा अगाडि कुनै शव आउनसक्ने अवस्था छैन। नेपाली प्रशासनयन्त्रको कमजोरीले नभई साउदी अरबको कानुनी प्रक्रियाका कारण यस्तो जटिलता हुने गरेको छ।
वैदेशिक रोजगारीमा गएर मृत्युवरण गरेकाहरूको शवलाई नेपाल ल्याउन सहज छैन। अन्य मुलुकबाट शव नेपाल ल्याउने कानुनी प्रक्रिया त्यति जटिल छैन। तर, साउदी अरबमा मृत्यु भएकाहरूका लागि साउदी अरबकै कानुन जटिल बनिरहेको छ। त्यहाँको कानुनअनुसार मृत्यु भएका विदेशी कामदारको शव सम्बन्धित मुलुक झिकाउन भिसा लगाउनुपर्ने जटिलता छ, जुन अन्य मुलुकमा छैन। ‘शव झिकाउन कम्तिमा प्रक्रिया थालेको पाँच हप्ता लाग्छ, साउदी कानुनअनुसार शव झिकाउन पनि भिसाको आवश्यकता हुने गरेको छ,’ वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अधिकारी अशोक गौतम बताउँछन्। बोर्डमा शव झिकाउन आउने परिवारलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ। ‘अन्य मुलुकको भए चाँडो पनि हुन्छ। तर, साउदी अरबको हकमा भने आफन्तलाई कम्तिमा पनि पाँच हप्ताको समय दिइने गरिएको छ,’ गौतम भन्छन, ‘त्यहाँभन्दा चाँडो हामीले चाहेर पनि हुँदैन।’

Leave a Reply

Your email address will not be published.