‘करोट’मा सुनले निम्त्याएको कलहको कथा [फोटो फिचर]

थारु भाषाको नाटक ‘करोट’को मञ्चन शुक्रबारदेखि सुरु भएको छ। प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामुकारी चौधरीको प्रमुख आतिथ्यमा सुभारम्भ भएको थियो। नाटक मञ्चनअघि मन्त्री चौधरीले नाटकमार्फत् थारु, भाषा र सँस्कृतिको संरक्षण गर्न सकिने बताइन्।

उनले नाटक वा फिल्म त्यस्तो माध्यम हो जसले समाजलाई सही दिशा निर्देश गर्नसक्ने बताइन्। ‘कलाकारमा त्यो क्षमता हुन्छ। उनीहरुले नाटक वा फिल्ममार्फत् समाजलाई सही बाटो निर्देश गर्नसक्छ,’ उनले भनिन्।

नाटकमा एउटा परिवारको कथा समेटिएको छ। एउटा भनाई छ- सुन भेट्नु राम्रो होइन। सुनलले कलह निम्त्याउँछ। निर्देशक प्रणव आकाशले नाटकमा पनि सुनले निम्त्याएको कलहलाई देखाउन खोजेका छन्। मानिसमा जब लालच पलाउँछ, त्यहाँ कुनै न कुनै दुर्घटना भएकै हुन्छ। त्यही लालचलाई नाटकमार्फत् देखाउन खोजेको निर्देशक प्रणवले बताए। कथाको माध्यम थारु भाषा बनाएपनि यो आम समुदायको कथा भएको उनले बताए।

एक घन्टामा समेटिएको नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे सर्वनाम थिएटरमा मञ्चन हुनेछ। शनिबार भने १ बजे अतिरिक्त शो हुने निर्देशक चौधरीले बताए।

Leave a Reply

Your email address will not be published.